घरबाट प्रेमीसँग स्कुटरमा निस्केकी बिना सापकोटा ९ दिनदेखि बेपत्ता, प्रेमी नियन्त्रणमा


काठमाडौं – पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ का ५० वर्षीय जयश्वर सापकोटा आफ्नी २१ वर्षकी छोरी बिना सापकोटाको खोजीमा निस्केको आज नौ दिन पूरा भएको छ, तर अहिलेसम्म बिनाको केही अत्तोपत्तो लागेको छैन।

जनक कलेज पछाडि झपर्दी चोककी बिना गत १४ असार साँझदेखि बेपत्ता छिन्। सोहीदिन अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना अहिलेसम्म घर फर्किएकी छैनन्। १४ असारदेखि नै बिनाको खोजीमा लागेका जयश्वर कहाँमात्र पुगेनन् होला?

उनले छोरी चारदिनदेखि घर नफर्किएपछि १८ असारमा फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए। दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन्।

बिहीबार अनलाइनन्यूज७सँगको कुराकानीमा जयश्वरले भने, ‘मेरो पहुँचले भ्याएको सबै ठाउँ पुगिसकियो, तर अहिलेसम्म छोरीको न लाश भेटियो, न सास।’ प्रहरी पनि छोरी बिनाको खोजीमा जुटिरहेको छ, तर हालसम्म केही फेला पार्न नसकेको उनले बताए।

इलाका प्रहरी कार्यालय, गैँडाकोट नवलपरासी र जिल्ला प्रहरी कार्यालय चितवन समेत बिनाको खोजीमा जुटेको ९ दिन भयो। तर, अहिलेसम्म केही सुराक पाउन सकेको छैन। आधा घण्टामा घर आउँछु भनेर निस्केकी बिना अहिलेसम्म नफर्किएपछि व्यापक खोजी भएको छ।

परिवारका अनुसार एक युवकसँग बिना पाँच वर्षदेखि प्रेममा थिइन्। बेलायत रहेका प्रेमी यही वैशाखमा घर आएका थिए। बिना र ती प्रेमी युवकको घर आउजाऊ भइरहन्थ्यो। आफ्नो प्रेमीसँग बिना असार १४ गते दिउँसो आधा घन्टामा फर्कन्छु भनेर घरबाट निस्केकी हुन्।

बुबा जयश्वरका अनुसार सो दिन चितवन भरतपुर महानगरपालिका–४ का प्रेमीले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए। सापकोटाले भने, ‘छोरी बिना असार १४ गते आधा घण्टामा आउँछु भनेर ब्वाइफ्रेण्डसँग घरबाट निस्केकी थिइन्।’

असार १८ गतेसम्म चारदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी छन्। प्रहरीले बिनाका प्रेमी (नाम परिवर्तन) निरनलाई नियन्त्रणमा लिएको छ।

२१ वर्षीया बिना गैंडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्ट्याटस’ मा ‘रिलेशन विथ आफ्नो प्रेमी निरनको नाम’ उल्लेख गरेकी छन्। त्यस्तै प्रेमी निरनले पनि फेसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन्।

बिनाको प्रेमी निरनको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ। उनी नेपाल आएको चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ। निरन र बिनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो। निरन बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे।

केटीको मोबाइल खोजेर केटासँग भएको कुराकानीबारे अध्ययन गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा केटाले दुईवटी केटीलाई प्रेम गर्ने कुरा बिनाले थाहा पाएपछि विवाद भएको हुनसक्छ।

बेपत्ता भएकी बिना सोहीदिन अर्की केटीको विषयमा कुरा गर्न प्रेमी निरनको स्कुटर चढेर भरतपुरतर्फ लागेको हुनसक्ने परिवारको आशंका छ। प्रहरी नियन्त्रणमा रहेका प्रेमी निरनले अर्की केटीलाई पनि बोलाएको प्रहरीसमक्ष बयान दिएका छन्। उनीहरु तीनजना सँगै कसेर कुरा गर्न तयार भएको बुझिन्छ।

निरनले प्रहरीसमक्ष दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो। सुरूमा ती युवतीले निरनसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन्।

प्रहरीका अनुसार बिनाको प्रेमी निरनले आफ्ना प्रेमिका बिना र अर्की युवतीको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका छन्। बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका छन्।

साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर जयश्वरलाई आएको थियो। उनले भने, ‘खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन्। तिमीहरू कता छौ म आउँछु भन्दा निरन र बिना दुवैले उनीहरू भएको ठाउँ बताएनन्।’

निरनलाई सवारीसाधन नभए मेरी छोरीलाई अटोरिक्सामा भए पनि घर ल्याइदिन आग्रह गरेको जयश्वरले बताए। ‘गौरीगञ्जमा लगेर छोरीलाई कुटेको खबर सुनिएको छ। कहाँ छ के छ केही थाहा छैन। केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको हो,’ उनले भने।

कुसुमको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको निरनको दावी छ। उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन्।

सोहीदिन जयश्वर र निरनले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए। नवलपरासी गैडाकोटको केटी भए पनि चितवनबाट हराएकाले चितवन प्रहरीले यो केस हेरिरहेको छ।

पछिल्ल्लो समय चितवन, नवलपरासीमा युवतीहरु बेपत्ता हुने क्रम बढ्दो छ। यसअघि ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटियो। ११ असारमा वेपत्ता भण्डारीको पोष्टमार्टम रिपोर्टमा समेत मृत्युको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया