

युरोकप र कोपा अमेरिका कपमा सट्टेबाजी गर्ने ३ भारतीयसहित ८ पक्राउ

काठमाडौं — विश्वमा हुने खेल प्रतियोगितामा नेपालमा पनि सट्टेबाजी गर्नेहरु देखा पर्न थालेका छन् । अहिले सोही अवस्थामा जारी रहेको युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप—२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् सट्टे बाजी गर्ने तीन भारतीयसहित ८ जना व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाबाट विशेष सूचनाका आधारमा खटिएको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाइन बेटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरेको छ ।
महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका १९ ढोकाटोल बस्नेत बर्ष ४७ को जिवन लामा, जिल्ला पर्सा बिरगंज –७ घर भई हाल काठमाडौं कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता, जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ५ टरौली घर भई हाल धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य, भारत हरियाना विवरनी जिल्ला घर भई हाल इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल, जिल्ला मोरङ बिराटनगर नगरपालिका वडा नं। ७ घर भई मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेका छन् ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

