पार्टी एकता गराउन म केपी ओलीतिर लाग्या छु : वामदेव


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

सोही क्रममा उनले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्‍भव नहुने भन्दै पार्टी मिलाउने कसरतमा लागेका दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताए ।

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको उनले बताए।

‘एकैठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि। दुईतिर तीनतिर बाँडिएकाहरूलाई नै एकता गराउने हो। अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो। पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु, उनले भने ।’

‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजी सँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ । हो, त्यतातिर लागिरहेको छु’, गौतमको भनाइ छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि पार्टी एकतामा सहजता हुने गौतमको दावी छ । ‘एकता सम्भव छ । अहिले संभव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ’ गौतमले भने ।

 

 

प्रतिक्रिया