

बाढीपहिरोले घरबार गुमाएका परिवारलाई सरकारको सहयोग

काठमाडौं – सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ ।
राष्ट्रियसभाको आईतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिदै गृहमन्त्री विष्णु पौडेलले तत्कालअस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका हुन् ।
यसबर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पुर्ण निजी आवासहरुको समेत विपद् प्रभावित नीजि आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुर्ननिर्माण गर्ने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।
यस वर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबार सभालाई जानकारी गराउदै सरकारले तत्काल उद्धार , राहत र पुर्नस्थापनाका लागि सरोकारवालाहरुसंग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए ।
सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए ।
‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ ।’ उनले भने, ‘ १ सय १२ घरमा भने आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।’
बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा पनि आंसिक क्षति पुगेको छ। । हालसम्म सिन्धुपाल्चोक, मनाङ र गोरखा जिल्लाका गरी २७८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सिन्धुपाल्चोक, मनाङ, दाङ, बारा, धनुषा, सुनसरी, पर्सा, चितवनलगायत जिल्लाका दुई हजारभन्दा बढी जनालाई अन्य माध्यमबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैयाका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुर्ननिर्माणको काम सुरु गरिएको पनि उनले जानकारी दिए ।

