

एक बर्खामै उप्किन्छन् कालोपत्र सडक

बलेवा – दुई महीना पहिले कालोपत्र भएको बागलुङ नगरपालिका-१३ पैँयुपाटाको सडक चार ठाउँमा उप्किएको छ । यस वर्ष कालोपत्र भएको झण्डै ५०० मिटर खण्डको बीचमा कालोपत्र उप्किएर खाडल बनेका छन् ।
सडक मुनिबाट खसेको पहिरो, सडक माथिबाट आउने पहिरो र जमीन नै भासिएपछि कालोपत्रे उप्किएको हो । सङ्घीय सरकारको रणनीतिक सडक योजनाअन्तर्गत कालोपत्र भएको सडक उप्किएपछि सडक डिभिजन कार्यालय बागलुङले मर्मतको काम थालेको छ ।
निर्माण कम्पनीलाई जिम्मेवारी दिएर सडक मर्मतको काम भइरहेको इञ्जिनीयर अर्जुन गौतमले बताउए । ‘निर्माणको जिम्मेवारी पाएको बिएमए निर्माण सेवाले पुनःनिर्माणको काम गरिरहेको छ’, उनले भने, ‘तलमाथि भाँसिएर कालोपत्र उप्केको हो ।’ मालढुङ्गा-पाग्जा-अमलाचौर, कुश्मीशेरा बरेङ शान्तिपुर सडक नामकरण गरेर यो सडकमा सङ्घीय सरकारले दुई वर्ष पहिलेदेखि सडक मर्मत र कालोपत्रको काम गरिरहेको छ । बागलुङमा यस वर्ष कालोपत्र भएका अधिकांश सडकमा बाढीपहिरो र जमीन भाँसिने समस्या छ ।
सङ्घीय सरकारकै रणनीतिक सडकअन्तर्गत बागलुङ नगरपालिका–१२ अमलाचौरमा सडक कालोपत्रको काम चलिरहेको छ । कालोपत्रको काम चलिरहेकै अवस्थामा अमलाचौरको सडक पनि उप्किएको सामाजिक सञ्जालमा गुनासो आउन थालेको छ । डिभिजन कार्यालय बागलुङले भने त्यहाँ काम नै पूरा भई नसकेकाले सडक उप्किएको भन्न नमिल्ने जनाएको छ । कालोपत्रको काम चलिरहेकै समयमा सर्वसाधारणले खबरदारी गर्न भने छोडेका छैनन् ।
बागलुङ कुश्मीशेरा सडक खण्डअन्तर्गत बागलुङको बलेवा क्षेत्रमा १० किलोमिटर सडक कालोपत्र भएको छ । जेठको दोस्रो साता कालोपत्रको काम सकेको निर्माण कम्पनीले अन्य संरचना निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । कालोपत्र भएको एक महीना नबित्दै उक्त सडकमा समेत ठाउँठाउँमा कालोपत्र उप्किएको छ ।
कतै खोला तथा खहरेको भल पसेर कालोपत्रको मेटाएको छ भने कतै उक्त सडकसँग जोडिएका स्थानीय सडकको स्तरोन्नतिका कारणले कालोपत्रमा क्षति पुगेको स्थानीय बताउँछन् । यो सडकको नारायणस्थान खण्डबाट पैँयुपाटा जोड्ने नयाँ सडक निर्माण गर्दा पानीट्याङ्की नजिकै कालोपत्र उप्किएको छ भने ठाउँठाउँमा पहिराले कालोपत्र सडक पुरेर हिलाम्मे बनेको छ ।
बरेङ गाउँपालिकामा पहिलो पटक कालोपत्र भएको सडक पनि बाढीको चपेटामा परेको छ । बरेङ बजारमा कालेपत्र गरेको सडक छ महीनामै उप्किएर हिलाम्मे भएको हो । सडकको बिभिन्न ठाँउमा भासिएको छ भने कालोपत्र उप्किए दुर्घटना हुने जोखिम बढेको छ । लगातारको वर्षा र खेल मैदान निर्माणले गर्दा सडकमाथिदेखि फालिएको माटोले कालोपत्रे उप्किएको र सडकको ठाउँ-ठाउँमा भाँसिएको स्थानीयको भनाइ छ । कालोपत्र गरेको वर्ष दिन नपुग्दै हिलाम्मे भएपछि यात्रुहरुलाई सास्ती खेप्नुपरेको छ ।
बागलुङ बजारको मुख्य चोक ट्राफिक चोकदेखि रामरेखासम्म मर्मत गरिएको कालोपत्र समेत उप्किएर ठाउँठाउँमा खाडल बनेका छन् । कालोपत्र भएको साँझदेखि नै निरन्तर भएको वर्षाका कारण सडकमा प्रयोग भएको अलकत्र र गिट्टी बगाएको छ । सडक नालीको उचित व्यवस्थापन नहुँदा बजारको मुख्य चोकमा ठूलो वर्षा हुँदा नालीको पानी भल बनेर बग्ने गरेको छ ।
सडक निर्माण गर्दा पानीको उचित निकास र आसपासमा बन्नुपर्ने संरचनामा ध्यान नदिएका कारण कालोपत्र सडकमा समेत ठूलो क्षति हुने गरेको सर्वसाधारणको गुनासो छ । ‘बाटो बनेको छ तर नाली पानी नअट्ने खालको बन्छ, कसले हेर्ने कस्ले अनुगमन गर्ने’ ,बलेवाका स्थानीयवासी भवानी शर्मा भन्छन्, ‘सर्वसाधारणलाई प्राविधिक ज्ञान हुँदैन, क्षति व्यहोर्नुपर्छ ।’ बाढी तर्काउने, पहिरोको व्यवस्थापन गर्ने र सडकका संरचना निर्माण गर्दादेखि नै ध्यान दिनुपर्ने सर्वसाधरणको सुझाव छ ।

