

डीआईजीको लागि आईजी क्षत्रीका ‘ब्याची’देखि कान्छो टोलीबीच प्रतिस्पर्धा
चर्चामा एसएसपी थापादेखि ढकालसम्म

काठमाडौं– १४ असारमा सरकारले दरबन्दी थपेर सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि चर्को प्रतिस्पर्धा हुने भएको छ। नेपाल प्रहरीमा थापा एआईजीमा बढुवा भइसकेपछि एक डीआईजी पद रिक्त हुनेछ।
रिक्त एकजना डीआईजीको लागि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीका ‘ब्याची’ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुदेखि ५ चैत ०५१ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा सेवा प्रवेश गरेको टोली समेत प्रतिस्पर्धामा देखिएका छन्।
आईजीपीका ब्याचीहरु तीनजना एसएसपी दिलिप चौधरी, देब बहादुर बोगटी र किशोरकुमार दाहालले अवकाश पाइसकेका छन्। थापाका ब्याची चारजना शौरभ राणा, राजेन्द्र चौधरी, शेखर कोइराला र प्रदीप कुमार श्रेष्ठ एसएसपी छन्।
महानिरीक्षक क्षत्रीकै ब्याचका १९ वैशाख, ०४९ मा सेवा प्रवेश गरेर बढुवामा पछि पारिएका चारजना एसएसपीहरु पनि डीआईजीका आकांक्षी हुन्। एक डीआईजी पद मात्रै रिक्त छ। सो पदमा पुग्न आईजी क्षत्रीको ब्याचाका बाहेक पछिल्ला दुई ब्याचका अधिकृत पनि प्रतिस्पर्धामा छन्।
११ चैत २०४९ मा सेवा प्रवेश गरेका अधिकृत चाहिँ महानिरीक्षक क्षत्रीको वैकल्पिक टोली हुन्। सो टोलीबाट सुशीलकुमार यादव, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री र मसाउद आलम खाँ पनि डीआईजीका आकांक्षी हुन्।
त्यस्तै ५ चैत ०५१ मा इन्सपेक्टरमा सेवा प्रवेश गरेको टोलीचाहिँ अहिलेको प्रतिस्पर्धी मध्येको कान्छो टोली हो। अबको करिब २० महिनापछि प्रहरीको नेतृत्वमा पुग्ने सो टोलीबाट केही उम्दा अधिकृत डीआईजीको प्रतिस्पर्धामा छन्।
जो, महानिरीक्षक क्षत्रीकै ब्याचका एसएसपीभन्दा बरियतामा माथि पुगिसकेका छन्। ०५१ मा भर्ना भएको टोलीबाट एसएसपी दीपक थापा, सन्दीप भण्डारी, टेकबहादुर तामाङ, टेकप्रसाद राई, उमेशराज जोशी, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल डीआईजीको प्रतिस्पर्धामा छन्।
सम्भवतः सहकुल थापाको बढुवापछि रिक्त एक डिर्आइजीका लागि यही कान्छो टोलीका एसएसपीहरुबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ। सम्भवतः डीआईजी बढुवाका प्रबल दाबेदार हुन् एसएसपी थापा।
यीमध्ये राजनीतिकदेखि गृहमन्त्रालयसम्म पहुँच भएका थापा नै भएकाले उनको बढुवा निश्चित भएको प्रहरी प्रधान कार्यालयमा समेत चर्चा छ । पूर्वआईजी सर्वेन्द्र खनालदेखि हालका शैलेश थापाले कार्यसम्पादन मूल्यांकन नम्बर राम्रो दिएकाले उनको बढुवाको सम्भावना प्रबल रहेको बताइन्छ ।
एसएसपी थापाले महानगरीय अपराध महाशाखाका प्रमुख रहेका बेला उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका थिए।
यस्तै एआईजीको जस्तै डीआईजीको पनि एक दरबन्दी थप भएको चर्चा छ। भावी नेतृत्वमा प्रतिस्पर्धा गराउने हेतुका साथ एक डीआईजीको दरबन्दी थप भएको गृह मन्त्रालय स्रोतको भनाइ छ।
एसएसपी भण्डारी, राई र ढकाल एक डीआईजीको दरबन्दी थप्ने र आफू पनि बढुवा हुने दाउमा छन्। एसएसपी भण्डारीले आफ्नो दाजु प्रदेश नम्बर १ का सभामुख प्रमोद भण्डारीको ‘भिटो’ प्रयोग गरी उनी दरबन्दी थपेर बढुवामा जाने चर्चा छ।
यता, एसएसपी राईको लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको जोड रहेको छ।
यस्तै ट्राफिक महाशाखा प्रमुख रहँदा राम्रो काम गरेका भिमप्रसाद ढकाल पनि डीआईजी बढुवाका दाबेदार मानिन्छन्। रिक्त रहेको उक्त पदमा ढकालको दाबेदारीको पनि चर्चा छ।
श्याम ज्ञवाली अर्थमन्त्री बिष्णु पौडेल र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमार्फत् बढुवाका लागि पहल गरिरहेका छन्। काठमाडौंको एसएसपीमा पनि उनी विवादरहित हुन सकेनन्। उनी अवधि नपुग्दै तानिएका थिए।
थापाको छलाङ, पोखरेलमा निराशा!
महानिरीक्षक क्षत्रीपछि आईजीपीको लागि एआईजी विश्वराज पोखरेल एक्ला दाबेदार थिए। सहकुल थापाको रातारातको छलाङले करिब एक वर्ष सिनियर डीआईजी भए पनि पोखरेल अब ढुक्क छैनन्।
यसअघि पोखरेलले राजनीतिक चलखेल गरी आफ्ना ब्याची र सिनियर एसएसपीहरुलाई उछिनेर डीआईजीमा बढुवा हुँदै एआईजी भएपछि प्रहरीको ‘चेन अफ कमाण्ड’ मा समस्या आएको भन्दै प्रहरी नेतृत्वको चर्को आलोचना भएको थियो।
तत्कालिन डीआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थियो। त्यतिबेला पोखरेल आफ्नो ब्याचबाट डीआईजी हुने एकल व्यक्ति हुन्।
उनै पोखरेल पछिल्लो समय आईजीपीको मुख्य दाबेदार रहेपनि सरकारले एआईजीको दरबन्दी थप गरेर थापालाई एआईजी बढुवामा सिफारिस गरेसँगै उनलाई धक्का लागेको हो।
एआईजीको दरबन्दी नै थप भएर थापा बढुवा सिफारिस भएपछि अब आईजीपीको लागि अब दुई जनाको भिडन्त हुनेछ। भावी नेतृत्वको लागि सरकारले भर्खरै एआईजीमा सिफारिस भएका थापा र अर्का एआईजी पोखरेलबीच चर्को प्रतिस्पर्धा हुनेछ।
हालका एआईजीहरु हरि पाल, निरज शाही र प्रधुम्न कार्की आईजीपी थापाकै ब्याचमेट हुन्। उनीहरु १९ बैशाख २०७९ मा आईजीपी थापासँगै अवकाशमा जान्छन्। त्यसपछि दुई एआईजी मध्ये एक जनालाई सरकारले आईजीपीमा नियुक्त गर्नेछ।
प्रशासनतर्फ नेपाल प्रहरीमा एआईजीको एक दरबन्दी थप भएसँगै अब पाँचवटा भएको छ। त्यस्तै हाल प्रहरीमा थपिएको दरबन्दीसँगै प्रशासनतर्फ डीआईजीको दरबन्दी २० हुन्छ।

