

लागूऔषध नियन्त्रण ब्यूरो प्रमुखमा एसएसपी थापा

काठमाडौं – लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) प्रमुखमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाको सरुवा भएको छ। एसएसपी दिलिप चौधरीले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त ठाउँमा थापाको सरुवा भएको हो।
एसएसपी थापालाई गृह मन्त्रालयले बिहीबार ब्यूरो प्रमुखको जिम्मेवारी दिएको हो। ७ असारमा भएको नियमित सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी मुख्यालयको अन्वेषण योजना निर्देशनालय सरुवा भएको थियो।
यसअघि ब्यूरोको प्रमुख रहेका एसएसपी चौधरीले गत ९ असारमा अवकाश पाएपछि त्यहाँको प्रमुख पद रिक्त भएको थियो। एसएसपी थापा अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृत मानिन्छन्।
यसअघि थापाले प्रहरी उपरीक्षक (एसपी) हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सफल कमाण्ड सम्हालेका थिए।

