

अवरुद्ध डुम्रे-बेंसीशहर सडकखण्ड सञ्चालनमा

दमौली – पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे-बेंसीशहर सडकखण्ड आजदेखि पुन: सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।
भानु नगरपालिका-१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो ।
धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,’ उनले भने, ‘सबै पहिरो हटाएर सडकखण्ड चालु गराइएको छ ।’

