

प्रहरीद्वारा ३ हत्या अभियोगी सार्वजानिक

काठमाडौं – तीन दिनअघि प्युठान नगरपालिका-१० मा मृतावस्थामा फेला परेका एक जना युवकको हत्या भएको खुलेको छ । असार १४ गते विहान प्युठान नगरपालिका-१० कोट निवासी २४ बर्षीय हेमन्त भन्ने नरेन्द्र पुन मगर मृत फेला परेका थिए ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेपछि सोही नगरपालिका-१० नेपानेका १५ र १७ बर्षीय दुई किशोर र मल्लरानी गाउँपालिका-३, धनुबाँस गाउँका १८ बर्षीया रेशमबहादुर घर्तीले असार १३ गते साँझ साढे ९ बजेको समयमा चिरुवा दाउराले निर्घात कुटपिट गरि पुनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही स्थानका २५ बर्षीय सुरेश बस्नेत सख्त घाइते अवस्थामा भेटिएका थिए । बस्नेतलाई सख्त घाइते बनाई बाटोमै छाडेर भागेको खुलेको प्रहरीले जनाएको छ ।
प्युठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लका असार १३ गते मृतक हेमन्त भन्ने नरेन्द्र पुन मगर र घाइते सुरेश बस्नेत नेपानेस्थित बस्नेतकी दिदीको गोठ बनाउने काम गरेर साँझ साढे ६ बजेतिर फर्किदै थिए ।
घर कोट तर्फ फर्किने क्रममा सोही स्थानको एक पसलमा मदिरा सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा घटना हुन पुगेको हो । घाइते सुरेश बस्नेतलाई विजुवार अस्पतालबाट रिफर गरि भैरहवा मेडिकल कलेजमा पठाए उपचार भइरहेको जनाइएको छ ।

