

सशस्त्रमा रिक्त तीन डिआईजीका लागि बढुवा प्रक्रिया सुरू, प्रतिस्पर्धी को–को?

काठमाडौं – सशस्त्र प्रहरीमा नायब महानिरीक्षक (डिआईजी)हरुको बढुवा प्रक्रिया सुरु भएको छ। हाल सशस्त्रमा तीन डिआईजीको पद रिक्त छ। सशस्त्र मुख्यालयले डिआईजी बढुवाको लागि सूचना प्रकाशित गरेको हो। बुधवार रिक्त तीन दरबन्दीमा तीन दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले सूचना जारी गरेका छन्।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) (क) बमोजिम साधारण समूहतर्फ बढुवाका सम्भाव्य उम्मेदवार रहेका बरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत अन्य आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फारम भरेर तीन दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना जारी गरिएको हो।
सशस्त्र प्रहरी नियमवाली २०७२ मा डिआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय बढुवा समिति हुने व्यवस्था छ। जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ।
रिक्त तीन डिआईजी पदका लागि नेपाल प्रहरीबाट आएका प्राविधिक प्रहरी नायब निरीक्षक (सई)हरू प्रमुख दाबेदार छन्। उनीहरू सशस्त्रमा प्रवेश गरेसँगै गैरप्राविधिक बनेका थिए। बढुवाका लागि एसएसपीहरु कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का दौडमा छन्। उनीहरु तीनैजना २० पुस २०७५ मा एसएसपीमा बढुवा भएका थिए।
धौबजी, न्यौपाने र खड्काले नेपाल प्रहरीमा हुँदा प्राविधिकका रुपमा सेवा प्रवेश गरेका थिए। धौबजी २५ असोज २०५२, न्यौपाने १ फागुुन २०५२ र खड्काले १ भदौ २०५० मा नेपाल प्रहरीको सईमा प्रवेश गरेका थिए। त्यस्तै भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक पनि डिआईजीका लागि प्रतिस्पर्धी हुन्।
उनीहरू पनि नेपाल प्रहरीमा प्राविधिक सईका रूपमा सेवा सुरु गरेका थिए। तर, पछि उनीहरू सशस्त्र प्रवेश गर्दै गैरप्राविधिक बनेका थिए। नेपाल प्रहरीबाट आएका सईहरू डिआईजी बनिसक्दा पनि सशस्त्रमै भर्ना भएकाहरू भने एसएसपीबाट माथि जान सकेका छैनन्।
सशस्त्र मुख्यालयले डिआईजी बढुवालगत्तै नायब उपरीक्षक (डिएसपी)सम्मको बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सशस्त्रमा लामो समय बढुवा प्रक्रिया अघि नबढाएको भन्दै महानिरीक्षक शैलेन्द्र खनालको आलोचना भइरहेको थियो।
खासगरी प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि डिएसपीमा बढुवा रोकिएको सशस्त्रमा लामो समय भइसकेको छ। सशस्त्रमा डिएसपीदेखि डिआईजीसम्म १०६ पद रिक्त रहेका छन्। ‘डिआईजीको बढुवा प्रक्रिया सुरु भएको छ। त्यो पदपूर्ति भएपछि तल खाली हुँदै जान्छ र अन्य पदमा पनि बढुवा हुन्छ,’ सशस्त्र प्रवक्ता डिआईजी राजु अर्यालले भने।

