

‘ज्वाला संग्रौलाले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको भेटियो’

काठमाडौं – आफूलाई सामाजिक अभियान्ता दावी गर्ने ज्वाला संग्रौलाले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको पाइएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको बताए।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि महानगरीय प्रहरी परिसर टेकुले संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।
अनुसन्धानकै क्रममा प्रहरीले अदालती प्रक्रियाका लागि उमेर पुगेको कागजपत्र भेरिफिकेसन गर्दा संग्रौलाले पेश गरेका कागजातहरुमा उनले कीर्ते गरेको भेटिएको हो।
एसएसपी सिंहका अनुसार पक्राउ गरेर खानतलासी लिँदा संग्रौलाका साथबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो। ‘ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको हो,’ सिंहले भने।
संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो। एसएसपी सिंहले भने, ‘संग्रौलाको जन्मस्थान समेत रहेको पाँचथरको हिलिहाङ गाउँपालिकामा कागजात भेरिफिकेसनका लागि विवरणमाग्दा सरकारी छाप र लेटरप्याडको दुरुपयोग गरेको पाइयो।’
‘४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख थियो। जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो, यही शंका लागेर थप प्रमाणीकरणका लागि प्रहरीले पत्र पठाएको थियो। त्यसक्रममा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको पाइएको हो।
त्यतिमात्रै होइन, संग्रौलाले पेश गरेका कागजातलाई प्रमाणित गर्ने कर्मचारीहरु पनि उनले नक्कली खडा गरेकी छिन्। साविक गाविसमै रहेका कर्मचारीहरु अहिले पनि गाउँपालिकामा छन्। तर ती कर्मचारीको नाम तथा हस्ताक्षरबिनै अरु कसैको नाम हस्ताक्षर गरि ज्वालाले जालसाझी गर्दै कीर्ते काम गरेकी छिन्।
उनका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको खुलेको छ।
गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो। प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो। तर सहमती भन्दा चर्का कुरा गर्न थालेपछि ज्वाला ६ असारमा कुटपिटको अभियोगमा पक्राउ परेकी हुन्।
संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूर, जातीय भेदभाव ऐन र सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

