

राहत बोकेर सीडीओ पोखरेल पुगे सिन्धुपाल्चोकको टिम्बुथान

काठमाडौं – सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका टोली राहत बोकेर सिन्धुपाल्चोकको अन्तिम बस्ती रहेको जुगलगाउँपालिकाको टिम्बुथान पुगेको छ।
विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण टिम्बुथान जाने सडक सञ्जाल टुटेपछि जिल्ला विपद् व्यवस्थापन समितिको टोली सोमबार हेलिकोप्टमार्फत टिम्बुथान पुगेको हो।
नेपाली सेना र नेपाल प्रहरीसहित टिम्बुथान पुगेका सीडीओ पोखरेलको टोली टिम्बुथानवासीका लागि खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्री हस्तान्तरण गरेका थिए।
उनले खाद्यान्न सामग्रीसमेत आफैँले बोकेर पीडितलाई हस्तान्तण गरका हुन्। टिम्बुवासीको दयनीय आर्थिक अवस्था देखेर सीडीओ पोखरेलले व्यक्तिगत रूपमा समेत केही नगद रकम सहयोग गरे।
सरकारी स्तरबाट टिम्बुस्थानको अनुगमनमा सीडीओसहित सुरक्षा अधिकारी पुगेको यो नै पहिलो पटक हो। जुगलहिमालसँगै जोडिएको टिम्बुथान शेर्पाहरूको बस्ती हो। उनीहरूको मुख्य पेसा चौँरीपालन हो।
अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने सात जना सडक सञ्जाल अवरुद्ध भएपछि गाउँमै अड्किएका थिए। उनीहरूलाई समेत सेनाकै हेलिकोप्टरबाट सिन्धुपाल्चोक सदरमुकाम ल्याइएको सीडीओ पोखरेलले बताए।

