

निधिसँग भाई शशांक जोडिए यस्तो बन्न सक्छ सभापतिका दाबेदार शेखर कोइराला टिम

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशका लागि सभापतिमा दाबेदारी गरेका नेता शेखर कोइरालालाई भाई शशांक नै उपसभापति विमलेन्द्र निधिको टिममा सहयोगी बनेपछि असर पर्ने अनुमान गरिएको छ।
तर अन्तिम अवस्थामा शशांकले शेखरलाई सहयोग गर्न सक्ने अड्कलबाजी पनि गरिएको छ। शेखरलाई जसरी पनि सभापति बनाउनका निम्ति कांग्रेसभित्र छिमेकी शक्तिको प्रभावका आधारमा निधि, शशांक र प्रकाशमान सिंहको टिम खडा गरिएको बताइन्छ।
निधि, शशांक र प्रकाशमानको एउटै टिम बन्ने र महाधिवेशनसम्म एउटा साझेदारी गर्ने तीनै नेताले बताइसकेका छन्। उनीहरुले महाधिवेशन केन्द्रित दुई वटा अनौपचारिक छलफल पनि गरिसकेका छन्। पहिलो बानेश्वरस्थित निधिको निवासमा भएको थियो भने दोस्रो महाराजगञ्ज स्थित महामन्त्री शशांकको निवासमा भएको थियो।
पार्टी नेतृत्व दोस्रो पुस्तामा ल्याउनका लागि यी तीन जनाको समूहले लविङ गर्नेछन्। तर सबैभन्दा पहिला देखा परेको तीन जनाको समीकरणले भने अन्य टिम कस्तो बन्ला भन्ने पनि अनुमानित मात्रै छन्। तर, शशांकको अन्यसँगको सहभागीताले सभापतिमा उठ्ने घोषणा नै गरेका शेखरका लागि असरदार हुनसक्ने बताइन्छ जसले कोइराला परिवारमा कांग्रेसको बागडोर आउला या नआउला भन्ने चिन्ता पनि छ।
यद्यपि नयाँ पुस्तालाई पदाधिकारी दिएर, साथ र विश्वासमा लिएर शेखरले टिम बनाउने रणनीति अपनाएका छन्। जसमा उनकी बहिनी सुजाता कोइराला, युवा नेताहरु ग्गन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेललगायत पनि टिममा राख्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।
यस पटक कांग्रेस महाधिवेशनमा त्रिपक्षीय वा चार पक्षीय भिडन्त हुने सम्भावना पनि रहेको छ। १३ औं महाधिवेशनमा पहिलो राउन्डमा त्रिपक्षीय भिडन्त भएको थियो। दोस्रो राउन्डमा भने कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई सघाएका थिए।
‘कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस महासमिति बैठकमा नै चलेको थियो। तर सभापतिमा फेरि शेरबहादुर देउवा उठ्ने भएपछि उक्त बहसलाई व्यवाहारिक बनाउन शेखरको टिम बलियो बन्न सक्ने आधार देखिन्छ’, कांग्रेस उच्च स्रोतले भन्यो।
शेखरले महामन्त्रीमा गगन थापालाई अघि सार्ने तयारी गरेका छन्। थापा सिटौलाको टिमतिर गएको खण्डमा भने उनले विश्वप्रकाश शर्मालाई अफर गर्न सक्ने बताइएको छ।
नेतृत्व हस्तान्तर वा पुस्तान्तरणका लागि युवा नेता थापाले आवाज बलियो र बुलन्द बनाउँदै आएका थिए। कतिपय फोरममा उनले नेतृत्व हस्तान्तरणको कुरा महाधिवेशनमा नगरिए आफू पनि सभापतिमा उठ्न सक्ने बताएका थिए। यद्यपि, उनी एक्लै भन्दा पनि शक्तिशाली रहेको कोइराला क्याम्पको टिममा उभिन सक्ने बताइएको छ।
यस्तै शेखरको टिममा डा. मिनेन्द्र रिजालदेखि संस्थापनइतरका प्रभावशाली नेता रहेको बताइएको छ। तर, बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको दौडमा रहेका कारणले यो टिममा पनि केही समस्या देखा पर्ने स्पष्ट छ। तर, अर्को पुस्ता नेतृत्व हस्तान्तरणकै पक्षमा रहेका कारणले देउवा र पौडेललाई ब्याक गराउनुपर्नेमा छन्।
देउवा खेमामा यसको अगुवाई उपसभापति निधिले गरेका छन् भने पौडेल क्याम्पमा शेखरसहित प्रकाशमान, शशांकलगायतका नेता नै सक्रिय भएका छन्। ‘कुनै बार्गेनिङ प्वाइन्ट नै नराखी शेखरको टिम बनाउने कोशिश छ’, उच्च स्रोतले भन्यो,‘यस पटक अलग र फरक देखिनेछ महाधिवेशन।’
कांग्रेसमा देउवा, निधि, पौडेल र शेखर कोइरालाको चार पक्ष भिडन्तमा देखिन सक्नेछ भने सिटौला १३ औं महाधिवेशन जस्तै निर्णायक पंक्तिमा उभिन सक्ने विश्लेषण गरिएको छ।

