टेलिग्राममा पनि अब ग्रुप भिडिओ कलको सुविधा


काठमाडौं – म्यासेजिङ एप टेलिग्रामले अन्ततः मोबाइल र डेस्कटपका लागि ग्रुप भिडिओ च्याट फिचर ल्याएको छ । अब प्रयोगकर्ताले ग्रुप कलमा क्यामेरा आइकनको फिचर पाउनेछन्, जसबाट भिडिओ कुराकानीसमेत गर्न सकिन्छ ।

टेलिग्रामको अडियो कलमा असीमित संख्यामा प्रयोगकर्ता जोडिन सक्ने भएपनि ग्रुप भिडिओ कलमा भने सुरुमा भ्वाइस च्याटमा जोडिने ३० जनामात्रै आवद्ध हुनसक्ने जनाइएको छ । यद्यपि कम्पनीले यो सीमा चाँडै बढाउने संकेत भने दिएको छ ।

नयाँ फिचरअन्तर्गत ग्रुप भिडियो कलमा रहेका प्रयोगकर्ताले आफ्नो स्क्रिन शेयरसमेत गर्न सक्नेछन् । टेलिग्राम प्रयोगकर्ताका लागि ग्रुप भिडियो च्याट ल्याउने घोषणा कम्पनीले अप्रिल, २०२० मै गरेको थियो ।

पछिल्लो समय ह्वाट्सएपको विवादस्पद गोपनीयता नीतिका कारण टेलिग्रामका प्रयोगकर्ता बढिरहेका छन् । गत जनवरीमा मात्रै यो एपमा ५० करोड सक्रिय प्रयोगकर्ता पुगेका थिए भने, त्यसयता अझ थप संख्यामा नयाँ प्रयोगकर्ता जोडिएका छन् ।

कम्पनीले हालै ग्रुप भिडिओ कलका अतिरिक्त एपमा एक्टिभ न्वाइज कन्ट्रोल फिचर पनि गरेको छ, जसबाट गुणस्तरीय आवाज सुन्न सकिने दाबी गरिएको छ । त्यस्तै एपमा एनिमेटेड ब्याकग्राउण्ड फिचर पनि थप भएको छ । यसअन्तर्गत प्रयोगकर्ताले डिफल्ट अप्सन वा आफैंले एनिमेसन सहितको ब्याकग्राउण्ड सिर्जना गर्न सक्नेछन् ।

प्रतिक्रिया