‘मेथानोल’ले करोडौं कुम्ल्याउँदा जेल पुगे प्याकुरेल, २६ बर्षिय युवकको धन्दा यस्तो थियो


काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले पहिलो पटक १० चैत २०७६ मा लकडाउन गर्ने निर्णय गरेको थियो। दोस्रो पटक १६ वैशाख २०७८ बाट निषेधाज्ञा जारी गरेको छ। लकडाउनको कारण सबै उद्योग, कलककारखाना, व्यावसाय, होटल तथा रेष्टुरेन्ट बन्द छन्।

कोरोनाको महामारी सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो तर, सेनिटाइजर र ग्लोब्स त्यति धेरै प्रयोग हुँदैनथ्यो। त्यतिबेला मास्क ऐच्छिक थियो भने पछि मास्क ग्लोब्स र सेनिटाइजरलाई बाध्यात्मक बनाइयो–स्वास्थ्य सुरक्षाको लागि।

लकडाउनमा धेरैको रोजगारी गुमेपछि काठमाडौंमा बस्न नसक्ने भन्दै आफ्नो गाउँतिर लागे। ठूला–ठूला उद्योग, व्यवसाय र कलकारखानाका सञ्चालकलाई लकडाउन जति समयसम्म भए पनि केही वास्ता थिएन। उनीहरुले झनै लकडाउनको समयमा मोजमस्ती गर्ने अवसर पाए।

तर, लकडाउनकै समयमा मौकाको फाइदा उठाउने भन्दै केही व्यक्तिहरु सक्रिय भए। मास्क, सेनिटाइजर र ग्लोब्समा कालोबजारी गर्नतिर उद्धत भए। ५ रुपैयाँको मास्कलाई १०० रुपैयाँसम्म बेच्ने र मानव शरीरका लागी घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर ह्यान्ड सेनिटाइजर उत्पादन गर्नेसम्मको काम भयो।

सुनसरी घर भएका आशिष प्याकुरेलले ह्यान्ड सेनिटाइजर उत्पादन गर्दै बिक्री वितरण गर्न थाले। प्याकुरेल ६ वर्षअघि भक्तपुरको काँडाघारीमा लाइफ लाइन सर्जिकलमा काम गर्थे।

त्यहाँ उनले मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर बनाउने काम सिकेका थिए।

६ वर्षअघि काम सिकेका प्याकुरेलले लकडाउन अघि मात्र त्रिपुरेश्वरमा आफ्नै लाइफ लाइन सर्जिकल हाउस नामको कम्पनी खोलेर मेडिकलका सामानहरु सप्लाइ गर्थे। जब लकडाउन भयो, प्याकुरेलले सोचे मौका यही हो करोडौंको मालिक बन्ने।

त्यसपछि त्रिपुरेश्वरबाट मौकाको फाइदा उठाउने उद्देश्यले वैशाखको पहिलो हप्तादेखि उनले मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर उत्पादान गर्न थाले। बाहिरि दुनियाँ राम्रोसँग बुझेका प्याकुरेलको सम्पर्क सिधै अस्पतालहरुदेखि ठूलाठूला मेडिकलहरुसँग थियो।

सुरुमा एउटा कोठाबाट सुरु गरेको सेनिटाइजर उत्पादनले राम्रो मार्केट लिन थालेपछि फ्ल्याट नै भाडामा लिएर ड्रमका ड्रम सेनिटाइजर बनाउन थाले। त्यहिअनुसारको अस्पतालहरुदेखि ठूलाठूला मेडिकलहरु मार्केटमा सेनिटाइजर सप्लायर्स हुन्थ्यो। त्यहिँबाट छोटो समयमै प्याकुरेलले नसोचेको आम्दानी गरे। त्यसपछि उनको रहनसहनदेखि बोलीचाली नै परिवर्तन भयो।

२६ वर्षीय प्याकुरेलले मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर ह्यान्ड सेनिटाइजर उत्पादन गरेको छ भन्ने कसलाई के थाहा? न प्रहरीलाई थाहा थियो, न त औषधी व्यवस्था विभागलाई नै। मेडिकलसम्बन्धी स्वास्थ्य सामग्रीको परीक्षण गर्ने निकाय विभाग हो।

सानै उमेरमा करोडौंको मालिक भएका प्याकुरेलले त्यसपछि आफ्नो व्यवसायलाई विस्तार गर्नतिर लागे। ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, शितल हाइटमा साढे २ तल्लाको घर किने। सबैभन्दा माथिल्लो तलामा आफू बस्थे भने बाँकी दुई वटा फ्ल्याटलाई कारखाना बनाए।

अब उक्त कारखानाबाट पनि ‘मेथानोल’ प्रयोग गरेको घातक सेनिटाइजर उत्पादन हुन थाल्यो। त्यसपछि त्रिपुरेश्वरस्थित लाइफ लाइन सर्जिक हाउसबाट सप्लाई मात्र हुन्थ्यो। ६ महिनामै उनले ललितपुरको इमाडोलमा घर किनेका हुन्। त्यतिमात्र होइन, घर किनेको एक महिनापछि उनले गाडी पनि किने।

गुणस्तरहिन सेनटाइजर बेचेर उनले सर्वसाधारणको मानव शरीरसँग खेलवाड मात्र गरेनन्, सानै उमेरमा करोडौंको मालिक भएका प्याकुरेल निशानको एक्स ट्रायल गाडी चढ्छन्। जुन गाडीको नेपालमा करिब डेढ करोड पर्छ। गुगलमा उक्त गाडीको मूल्य १ रकोड ३७ लाख बताइएको छ। उक्त गाडी नेपालमा थोरै मान्छेले मात्र चढ्ने गर्छन्।

यसरी दुई नम्बरी धन्दा गरेर अकुत सम्पत्ति आर्जन गरेका प्याकुरेल यतिबेला पूर्पक्षका लागि थुनामा छन्। १० जेठमा ‘मेथानोल’ रसायन मिसाएर ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो। प्याकुरेललाई ललितपुर जिल्ला अदालतले थुनछेक बहसबाट पूर्पक्षको लागि जेल चलान गरेको हो।

जतिबेला प्याकुरेलले आरसिबी इन्डष्ट्रिज, पर्सा नामक कम्पनीको ब्यानरमा उत्पादन गरेको ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजरमा २४ प्रतिशत ‘मेथानोल’ मिसिएको ल्याब परीक्षणबाट पुष्टि भएको थियो। प्याकुरेलले सञ्चालन गरेको कारखानाबाट सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थलगायतको सामग्रीहरु ठूलो मात्रामा प्रहरीले बरामद गरेको थियो।

पक्राउपछि अनुसन्धानको क्रममा प्याकुरेलले राजस्व समेत छली गरेको पाइएको प्रहरीले जनाएको छ। राजस्व कर छली गरेकोले थप अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले बताए।

प्याकुरेलले ललितपुरमा सञ्चालन गरेको कम्पनीले हालसम्म आन्तरिक राजश्व कार्यालयमा आफ्नो कम्पनी दर्ता गराई स्थायी लेखा नं लिई प्यानमा दर्ता गराएको समेत नदेखिएको र निजले हालसम्म आयव्यय विवरण पेश गरेको देखिएन।

उनले राजस्व छली गर्दै आएको देखिएको हुँदा सोतर्फ समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले थप अनुसन्धान कारबाहीको लागि आवश्यक कागजातहरु आन्तरिक राजश्व कार्यालय ललितपुर २, लखनखेल ललितपुरमा पठाइएको छ।

प्याकुरेल प्रस्तुत मुद्दाबाट छुट्ने भएमा सो तर्फ अनुसन्धान कारबाहीको लागि आन्तरिक राजश्स कार्यालय ललितपुर २ मा पठाउने प्रायोजनार्थ सम्बन्धित प्रहरीको जिम्मा लगाई महानगरीय प्रहरी परिसरमा फिर्ता पठाउन अदालतले आदेश दिएको थियो।

राजस्वी छली गरेका प्याकुरेलले लकडाउनको सुरुमा राम्रै आम्दानी गरेको एक अधिकृत बताउँछन्। ‘लकडाउनको ६ महिनापछि प्याकुरलले घर र गाडी एक महिनाको अन्तरालमा किनेको हुनुपर्छ। त्यसअघि उनी घर भाडामा बस्दै आएका थिए’, ती अधिकृतले अनलाइनन्यूजलाई बताए।

६ वर्षअघि उनले भक्तपुरको काँडाघारीमा एउटा माडेलले सञ्चालन गरेको लाइफ लाइन सजिर्कल हाउसमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘त्यहिँ गुणस्तरहिन सेनिटाइजर बनाउन सिकेको हुनुपर्छ। त्यहि देखेर लकडाउनको समयमा मौकाको फाइदा उठाउन आफैं गुणस्तरहिन सेनिटाइजर बनाउन थालेका हुन्’, ती अधिकृतले भने।

जबकी प्याकुरेलले सञ्चालन गरेको कम्पनी कहिँ कतै दर्ता नै छैन। ‘औषधी व्यवस्था विभागमा पनि दर्ता हुनुपथ्र्यों, त्यो पनि छैन। प्याकुरेललाई कहिँकतैबाट सेनिटाइजर बनाउने अनुमति नै छैन’, अनुसन्धानमा खटिएका अधिकारीले बताए।

सर्वसाधारणको मानव शरीरसँग खेलवाड गर्ने प्याकुरेलविरुद्ध प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा चलाएको थियो।

प्रतिक्रिया