३५ करोडको भवन अलपत्र पारी नेपाल प्रहरीका हाकिमले किन गरे बेइमानी?


काठमाडौं– नेपाल प्रहरीले ३५ करोड लगानीमा निर्माण सम्पन्न भइसकेका ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’का भवनहरू अलपत्र अवस्थामा राखेको छ। २१ भदौ २०७५ मा सरकारले महाराजगञ्जस्थित प्रतिष्ठान काभ्रेको पनौती सार्ने निर्णयपछि ति भवन निर्माण गरिएका थिए।

प्रहरीभित्र ‘एकेडेमी’का नाममा ख्याती रहेको महाराजगञ्जस्थित प्रतिष्ठानलाई १८ महिनाभित्र सार्ने निर्णय सरकारको थियो। सोही निर्णयअनुसार नै समयसीमामा भवन निर्माण सम्पन्न भए। तर, प्रहरीका उच्च तहका अधिकारीका केही ‘बेइमानी’का कारण निर्माण भएका प्रतिष्ठान जिम्मा लिइएको छैन।

जतिबेला प्रहरी एकेडेमीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ठूले राई थिए सोही बेला उक्त भवन निर्माणको सम्झौता भएको थियो। राईकै कार्यकालमा एकेडेमीले करिब ३५ करोडको टेन्डर आह्वानको सूचना निकालेको थियो। उक्त टेन्डर ३ वटा कम्पनीले पारेको थियो– क्षमादेवी निर्माण सेवा, आरती निर्माण सेवालगातयले।

२०७६ कात्तिकमा एकेडेमीको तर्फबाट एआईजी राई र निर्माण कम्पनीको तर्फबाट जयराम अर्यालले ५ महिनाभित्र अर्थात २९ फागुन २०७६ भित्र काम सम्पन्न गर्ने सम्झौता गरे। जुन समयसीमामा नै निर्माण सम्पन्न भयो।

त्यतिमात्र होइन, काम सकेपछि भुक्तानी दिने विषयमा समेत सम्झौतापत्रमा समेटिएको छ। सम्झौतामा संकेत गरिएअनुसार ठेकेदारलाई एकेडेमीले भुक्तान गर्ने विषयमा सुरुमा ठेकेदारले कामदारहरूसँग सम्झौता गरेर कामहरू कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। जुन ०७६ फागुनमा नै सम्पन्न गरियो।

निर्माण कार्य सम्पन्न गरी प्रहरी प्रतिष्ठानलाई भवन हस्तान्तरणका लागि बारम्बार अनुरोध गर्दा पनि त्यसका प्रमुखका रुपमा आउने प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)हरूले चासो लिएका छैनन् भने प्रहरी प्रधान कार्यालय पनि मौन छ। उक्त भवन निर्माण सम्पन्न भइसकेको जानकारी गृह मन्त्रालयले पनि समयमा नै पाएको थियो।

निर्माण सम्पन्न भएको १४ महिना बितिसक्दा पनि प्रहरीले प्रतिष्ठानका कामहरू पनौतिका भवनबाट गर्नुपर्ने हो तर बुझ्ने इच्छा नै नदेखाउनुमा प्रहरी उच्च अधिकारीहरूको ‘बेइमानी’ रहेको बताइन्छ।

यसरी निर्माण सम्पन्न भवन प्रहरीले बुझ्नकै लागि ‘बुझ पचाउँदा’ ठेकेदार कम्पनीहरु मारमा परेका छन्। वर्षायाममा पानी पर्ने हुँदा बाढीपहिरो जाने, ग्राउन्डमा भेल बगेर आएको पानी जम्नेजस्ता समस्याले गर्दा ठेकेदारहरुलाई मारमा पार्ने काम भइरहेको छ।

‘भौतिक संरचना निर्माणपछि हस्तान्तरण गरिने र त्यो भवन बुझेपछि त्यसको संरक्षण हुन्छ। प्रहरीले बुझ्न मानेको छैन, भवनहरुको अवस्था के हुन्छ?’, स्रोतले भन्यो,‘१४ महिनासम्म खाली राखेर प्रहरीले ति भवनलाई उपयोग नगर्न खोजेको हो की ठेकेदार कम्पनीलाई मारमा पार्न खोजेको हो?’

काम सकेको २ वर्ष बितिसक्दा समेत अन्तिम बिल प्रहरीले भुक्तानी गरेको छैन।

राईपछि तीन जना एआईजीले प्रहरी एकेडेमीको नेतृत्व सम्हाले। एआईजीत्रय तारिणी लम्साल, निरजबहादुर शाही र प्रधुम्न कार्की। तारिणी र शाहीको कार्यकाल छोटो भए पनि अहिले प्रहरी एकेडेमीको प्रमुख छन्, एआईजी कार्की।

एआईजी कार्कीले कोरोना भाइरसको कारण भवन बुझ्नमा केही कठिनाईहरु भएको बताए। ‘लगभग ९० प्रतिशत काम सम्पन्न भएको छ। अब बाँकी १० प्रतिशत काम सकेपछि बुझ्छौं,’ एआईजी कार्कीले केही दिन अघि अनलाइनन्युजलाई भनेका थिए।

२०७७ वैशाखमा एकेडेमी महाराजगन्जबाट पनौतीमा सारिसक्ने योजना गृहमन्त्रालयको भए पनि अहिलेसम्म नसर्नुले विभिन्न शंकाहरु उब्जाइदिएको छ। निर्माणकार्य सम्पन्न भएको कम्पनीले दाबी गरे पनि यता एआईजी कार्कीले अझै १० प्रतिशत काम बाँकी रहेको बताएका छन्।

प्रतिक्रिया