

अख्तियार प्रमुख राईको कडा ‘मुभ’: चुडामणी शर्मासहितलाई १ अर्ब बढी भ्रष्टाचारमा मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका दिनदेखि नै भ्रष्टाचारमा अनुसन्धान थालेका प्रेम कुमार राईले एउटा ठूलो प्रकरणको मुद्दा अदालतमा दर्ता गराएका छन्।
कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ। शर्मालगायतसँग लामो समयसम्म बयान लिएपछि प्रमुख आयुक्त राईको निर्देशनमा उक्त मुद्दा दर्ता भएको हो।
आयोगले बुधबार एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायमसहितको मुद्दा दर्ता गराएको हो। श्र्मासँगै अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरिएको छ। आन्तरिक राजश्व विभागका महानिर्देशकमा लामो समयसम्म बस्ने सहसचिव थिए शर्मा।
२२ माघ २०७१ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ अनुरुप कर फछ्र्याैट गर्न सरकारी समिति बनेको थियो। तर उक्त समितिले अधिकारक्षेत्र बाहिर गई करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई नोक्सान हुनेगरी सम्झौता गरेको थियो।
विभिन्न शीर्षकमा वक्यौता रहेको कर फर्छ्यौटका क्रममा समितिका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको र मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ।
समितिका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी भएको प्रमाण समेत अख्तियारसँग रहेको उल्लेख गरिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरीवाना सजाय माग गर्दै विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

