

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा (फोटोफिचर)

काठमाडौं – दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन्। गत ६ असारमा सिंहदरबार प्रहरीले प्रधानलाई बबरमलस्थित निवासबाटै पक्राउ गरेको थियो।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा सिंहदरबार वृत्तले प्रधानलाई रिहा गरेको हो। रिहापछि प्रधानले मन्त्री श्रेष्ठलाई धन्यवाद दिइन्। त्यसपछि प्रधानका समर्थकहरुले उल्टो रुपा सुनारलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरे।
मन्त्री श्रेष्ठकै गाडीमा प्रधानलाई निवाससम्म लगिएको छ।
प्रधानविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्।
काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी परेको थियो।
रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन्। दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन्।

