ज्वाला संग्रौलालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय डरायो!


काठमाडौं – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मणिकान्त झामाथि नश्लीय टिप्पणी प्रयोग गर्ने आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई प्रहरी प्रधान कार्यालयले कारबाही नगर्ने भएको छ।

संग्रौलालाई कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले मधेसी आयोगमा उजुरी परेको हुनाले अब त्यतैबाट कारबाही प्रक्रिया अघि बढ्ने बताए।

मधेसी आयोगले उजुरी हालेको सुनेको छु, अब त्यतैबाट कारबाही प्रक्रिया अघि बढ्ने प्रवक्ता कुँवरले बताए। ‘मधेसी आयोगबाट प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ। अब त्यतैबाट कारबाही प्रक्रिया अघि बढ्ला कि?’ कुँवरले भने।

मधेशी आयोगमा बुधबार संग्रौलाको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको छ। एसएसपी कुँवरले भने, ‘ आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकेको छ।’

असई झालाई मात्र नभएर कानुनको बर्खिलाप हुने गरी सिंगो प्रहरी संगठनमाथि नश्लीय टिप्पणी प्रयोग गर्ने संग्रौलाको टोलीमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालय किन डरायो? संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई प्रश्न छ।

प्रहरी संगठनको सदस्यमाथि नश्लीय टिप्पणी प्रयोग गर्ने संग्रौलासहितको टोलीमाथि मधेसी आयोगले प्रहरी प्रधान कार्यालयमा उजुरी हालेको छ। मधेश आयोगका अध्यक्ष विजय दत्तले असई झामाथि नश्लीय टिप्पणी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाए।

अध्यक्ष दत्तले ट्राफिक प्रहरी झामाथि भएको टिप्पणीको उजुरी समेत आयोगमा दर्ता भएको जानकारी दिए। उजुरी दर्ता भएसँगै कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष दत्तको भनाइ छ। ‘आयोगमा उजुरी दर्ता भइसकेको छ, कारबाहीका लागि प्रक्रिया पनि अगाडि बढेको छ,’ उनले भने।

गत ११ जेठमा महारजगञ्जमा निषेधाज्ञाका बेला पास र लाइसेन्स माग्दा आफूलाई सामाजिक अभियान्ता बताउने संग्रौलाको टोलीले असई झा ‘जातैले मधेशतिरको लाग्छ, उतै सरूवा गरिदिन्छौं’ भनेर नश्लीय टिप्पणी गरेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई जानीजानी त्यसरी दुव्यर्वहार गर्न पाइँदैन।

त्यस्तै घटनाको एक हप्तापछि असई झाको महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा समेत भएको थियो – महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) मा। संग्रौलाको चेतावनीपछि झाको सरुवा भएको प्रष्ट छ।

सरुवा भएको खबर बुधबार मात्र मिडियामा आएको थियो। त्यसपछि प्रहरीको चौतर्फी आलोचना भयो। आलोचना खेप्न नसकेपछि बुधबार साँझ नै असई झालाई महाराजगञ्ज ट्राफि प्रभागको रमाना बुझ्न लगाएर पुनः महाराजगञ्ज पठाइएको छ।

कसैको दबाबमा एकाएक असई झाको सरुवा किन गरियो? भनेर हामीले प्रवक्ता कुँवरलाई प्रश्न गरेका थियौं। जवाफमा प्रवक्ता कुँवरले सरुवा तत्कालको कुरा भएकाले गरिएको होला भने। ‘सम्बन्धित निकायलाई थाहा होला। प्रहरी प्रधान कार्यालयलाई यस्तो कुरा थाहा हुँदेन,’ उनले भने।

भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि। तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असई झालाई धम्क्याएको थियो।

त्यतिमात्र होइन संग्रौलासहितको टोलीले ‘झा मधेशी’ अब मधेशतिरै गएर खेतीकिसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन,’ जस्ता नश्लीय शब्दसहित दुव्र्यवहार गरेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई जानीजानी त्यसरी दुव्यर्वहार गर्न पाइँदैन।

यो पनि पढ्नुहोस्…

ज्वाला संग्रौलालाई कारबाही गर्ने हिम्मत छ आईजी सा’प?

‘कसैको धम्की’ले असई मणिकान्त झालाई महारागञ्जबाट हटाइयो

प्रतिक्रिया