

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

लमजुङ – दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।
आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।
उनले भने, ‘ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि घरसहित घरमा भएको सबै सामान बगाएको छ ।’ एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।
त्यस्तै, पाँच/छवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताउनुभयो । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०र१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् ।
बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । ‘विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलोचोटि नै हो’ वडाध्यक्षले भने । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताए ।

