

‘श्रीमती र छोरीलाई आगो लगाएपछि ट्रकमा लुकेर कञ्चनपुर हुँदै कैलाली पुगेका थिए सन्तोष’
मन्त्रीले चासो देखाएको घटनामा डोटी प्रहरीको सफलता, अभियुक्त पक्राउ

आगोबाट जलेकी लक्ष्मीलाई उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन डोटीमा प्रेम आले। तस्बिर :सामाजिक सञ्जाल
काठमाडौं – गत १२ जेठमा अज्ञात व्यक्तिले आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षीया अन्जु जलेर घाइते भए।
उनीहरुको योजनाबद्ध रुपमै हत्याको प्रयास भएको थियो। लगत्तै घटनामा संलग्न व्यक्ति फरार भए। घटनाबारे टेलिफोनमार्फत जानकारी प्राप्त भएपछि तत्काल डोटीका प्रहरी निरीक्षक (इन्सपेक्टर) किशन चन्दको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो।
अनुसन्धानको क्रममा लक्ष्मीकी श्रीमान सन्तोष भाटले नै आगो लगाएको खुल्यो। त्यसपश्चात प्रहरीले सन्तोषको खोजीकार्य अघि बढाएको थियो। सन्तोषविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा १६ जेठमा ज्यान मार्ने उद्योग मुद्दाको किटानी जाहेरी परेको थियो।
घटनापछि फरार रहेका सन्तोष छिमेकी मुलुक भारत गएको हुनसक्ने अनुमान प्रहरीको थियो। किनकि डोटीबाट भारत नजिकै पर्छ। यसबारे जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखालाई जानकारी गराइसकेको थियो।
अनुसन्धानको क्रममा प्रहरीले सन्तोषले प्रयोग गर्ने मोबाइल नम्बरको कल डिटेल र टावर लोकेशनको खोजी गरेको थियो। टावर लोकेशनबाट घटनाको भोलिपल्ट अर्थात १३ गते सन्तोष कञ्चनपुरको भारतीय सिमाना त्रिभुवन बस्तीमा रहेको पाइयो।
त्यसपछि कञ्चनपुर प्रहरीको समन्वयमा डोटी प्रहरी उक्त स्थानमा पुगेपनि सन्तोष मोबाइल अफ गरी सम्पर्कविहीन भइसकेका थिए। त्यसपछि डोटी प्रहरीले भारतीय प्रहरीको सहयोग र सन्तोषका भारतमा रहेका आफन्तसँग गोप्य रूपमा उनको बारेमा प्रहरीले बुझिरहेको थियो।
प्रहरीले फरार रहेका सन्तोषलाई खोजी गर्दै जाँदा सोमबार बिहान कैलालीको सीमावर्ती नाका त्रिनगर भन्सारबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले लामो समय लगाएर भएपनि डोटी प्रहरीले यस घटनामा सफलता हात पारेको बताए।
फरार सन्तोषको खोजतलासका लागि एसपी मल्ल स्वयं कैलाली पुगेका थिए। ‘घटनाको राति नै सन्तोष नजिकैको पिपलाबजारबाट ट्रकको पछाडि बसेर कञ्चनपुर पुगेको खुलेको छ,’ मल्लले भने, ‘त्यसको २ दिनपछि सन्तोष कैलाली पुगेका थिए।’
घरायसी विवादको कारण सन्तोषले श्रीमती लक्ष्मी भाट र छोरी अञ्जु भाटलाई सुतिरहेको अवस्थामा ज्यान मार्ने मनसायले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एसपी मल्लले भने, ‘श्रीमान–श्रीमतीबीच केही वर्षदेखि मनमुटाव रहेछ, त्यहि विषयलाई लिएर घटना भएको देखिन्छ।’
पक्राउ परेका सन्तोषमाथि जिल्ला अदालत डोटीबाट ६ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको एसपी मल्लले बताए।
लक्ष्मी सन्तोष भाटकी जेठी श्रीमती हुन्। सन्तोषले लक्ष्मी र तीन छोरीलाई छोडेर तीन वर्षअघि वहुविवाह गरी पछेरी गाउँ बस्दै आएका बताइएको छ। उनकी कान्छी श्रीमतीबाट एक छोरा छन्। घटनाको दिन जेठी छोरी अनु (७ वर्ष), माइली छोरी अनिशा (४ वर्ष) आमासँग नरहेको र दुई वर्षकी कान्छी छोरी अन्जु मात्रै लक्ष्मीसँग रहेका थिए।
कोठाभरी आगो सल्किदा अञ्जुलाई लक्ष्मीले काखमा बोकेर आफ्नो शरीरको आगो निभाउने प्रयास गर्दा अन्जु सामान्य घाइते भएकी हुन्। घटनालगत्तै लक्ष्मीलाई डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा भर्ना गरिएको थियो। तर, अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनी पाँच दिनदेखि अस्पतालमै रहेकी थिइन्।
त्यसपछि घाइते लक्ष्मीको जिल्लामा उपचार गर्न सम्भव नभएपछि तत्कालिन मन्त्री प्रेम आलेको पहल तथा अर्थमन्त्री विष्णु पौडेल तथा गृहसचिव महेश्वर न्यैपानेको समन्वयमा उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार भइरहेको छ। आगोले जलेर घाइते आमा र छोरीको स्वास्थ्य अवस्थामा सुधार आएको एसपी मल्लले बताए।
लामो समयसम्म घटनामा संलग्न आरोपी पक्राउ नपरेपछि महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले श्रीमती र छोरीलाई ज्यान मार्ने उद्देश्यले आगो लगाउने व्यक्तिलाई तत्काल पक्राउ गरेर दोषी उपर कडा कानुनी कारवाही गर्न आग्रह गर्दै विरोध जनाएका थिए।
मन्त्रीले नै चासो देखाएपछि क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय डोटी, मातहतका प्रहरी ईकाईहरु गम्भीरतापूर्वक यस घटनाको अनुसन्धानमा जुटेका थिए। अन्ततः मन्त्रीले चासो देखाएको घटनामा डोटी प्रहरीलाई सफलता मिलेको छ।

