त्रिपुरेश्वरबाट क्रोएसियाका फुटबल खेलाडी र होटल सञ्चालक पक्राउ, जरिवाना तिरेर रिहा


काठमाडौं – प्रहरीले त्रिपुरेश्वरस्थित एक होटलमा युरोकप फुटबल हेरेर झगडा गर्ने ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई स्थानीय प्रशासनले जरिवाना तिराएर छोडेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटबल हेर्दा विवाद गरेर झगडा गर्ने क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटबल खेलाडी र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना प्रहरीलाई आएको थियो। युनाइटेड बिजनेस होटलका सञ्चालक भोजपुर घर भएका अश्विन श्रेष्ठसहितलाई पक्रेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइएको काठमाडौंका एसपी रमेश बस्नेतले बताए।

पक्राउ पर्नेहरुमा श्रेष्ठसहित क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ रहेका छन्।

होटल सञ्चालक श्रेष्ठसहित नेशनल सुपर लिग खेल्न नेपाल आएका विदेशी र सशस्त्र प्रहरी बलबाट कन्ट्याक्टमा खेल्ने फुटबलरलाई जरिवाना तिराएर छाडिएको सिडिओ कार्यालयले जनाएको छ।

संक्रामक रोग ऐन–२०२० विरुद्धको कसुरमा उनीहरुलाई प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जरिवाना गरेका हुन्।
होटल सञ्चालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको छ।

प्रतिक्रिया