अदानचुलीले बाँढ्यो २४० सुधारिएका चुल्हा


सिमकोटहुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

परम्परागत चुल्होका कारण गाउँका महिलाहरूको स्वास्थ्यमा नराम्रो असर परेको पालिकाले गरेको अध्ययनले देखाएको छ, अध्यक्ष फडेराले भने, ‘परम्परागत चुल्होमा खाना पकाउँदा महिलामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वडा नम्बर १ कल्खेका तीन गाउँलाई हामीले धुवाँरहित चुल्हो वितरणको काम शुरु गरेका हौँ ।

गाउँपालिका, खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा १ कल्खेका तीन गाउँबाट सुधारिएको चुल्हो वितरणको काम थालनी गरिएको वडा नं १ का वडाध्यक्ष रग्या थापाले जानकारी दिए । पालिकाले हरेक वर्ष विनियोजन गरेको वडाको बजेटलाई विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको उनले बताए । वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने उनको भनाइ थियो ।

गत आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक कार्यक्रमबाट रु पाँच लाख र खानेपानी, सिँचाइ तथा जलस्रोत कार्यालयको रु पाँच लाख ५० हजारबाट चुल्हो खरिद गरिएको उहाँले जानकारी दिनुभयो । अपुग रकम चालु आर्थिक वर्षको कार्यक्रमबाट व्यवस्था गरिने उनले बताए ।

प्रतिचुल्हो खरिदमा रु नौ हजार पर्ने भए पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत ( रु चार हजार ५००) अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो । काठमाडौँमा तयार भएका चुल्हो सुर्खेतबाट बाजुरा हुँदै स्थलमार्गबाट बुधबार अदानचुली पुर्याइएको हो ।

(रासस)

प्रतिक्रिया