

बौद्ध हत्याकाण्डः ‘बोरामा थिए दुवै खुट्टा, एउटाको हड्डी निकालियो,’ कसरी गर्दैछ प्रहरीले अनुसन्धान?

काठमाडौं – काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँ बस्तीको टाउन प्लानिङमा बोराभित्र मानिसको खुट्टा मात्र भेटिएको घटनामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेपनि उक्त खुट्टा अहिलेसम्म कसको हो भन्ने खुलेको छैन।
गत २५ जेठमा मानिसको शवको खुट्टा फेला परेसँगै महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको छुट्टाछुट्टै टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तर, पनि अलिहेसम्म प्रहरीलाई केही सफलता मिलेको छैन।
नयाँबस्थितस्थित नौ तलेमा गत मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो। सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा समेत भेटिएको थियो। त्यसैले प्रहरीलाई शव नै कसको भनेर पहिचान गर्न हम्मेहम्मे परेको छ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार चारजना युवाले बोरामा लगेर सो शव फालेको पाइएको छ। घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजबाट चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीका फुटबल मैदान हुँदै हिँडेको देखिएको छ।
तर, बोरामा पोको पारेर शव फाल्नेहरूको पहिचान हुन सकेको छैन। खुट्टा मात्र भेटिएको र त्यसमा पनि जलेको अवस्थामा रहेकाले घटना निकै रहस्यमय भएको अनुसन्धान अधिकरी बताउँछन्। खुट्टा भेटिएको वरिपरि ठूलै बस्ती समेत छ।
प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरहरु पनि प्रयोग गरिरहेको छ। मृतक महिला हुन् कि पुरुष हुन् भन्नेसम्म निष्कर्षमा पनि प्रहरी पुग्न सकेको छैन। शव नै कसको हो भन्ने यकिन नभएकाले प्रहरीलाई अनुसन्धानमा केही कठिनाइ भएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा हराएको भनी आएका निवेदनबारे केन्द्रीत रहेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए। उनले भने, ‘शव नै पहिचान गर्न गाह्रो भएकाले पीडितको सम्पर्कमा पुग्न सकेका छैनौं।’
घटनाको दिनदेखि नै प्रहरी शवको पहिचान र घटनास्थलको खोजीमा जुटेको हो। मान्छे पहिचान गरेपछि अनुसन्धान सहज हुने थियो तर, पहिचानमा समस्या भइरहेको एसपी बस्नेत बताउँछन्। ‘पछिल्लो समय अनुसन्धान नै शव पहिचान गर्नमा केन्द्रीत छ,’ उनले भने।
यता घटनास्थलको मुचुल्का गरेर शव भेटिएकै दिन पोष्टमार्टमको लागि त्रिवी शिक्षण अस्पताल पठाइएको थियो। त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिइसकेको छ।
तर, अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार बोरामा पोको पारेको शवमा दुईवटै खुट्टा भएको तर एउटा खुट्टाको मासु काटेर हड्डी निकालेको देखिएको छ।
अस्पतालले शवको डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। डीएनए परीक्षणबाट महिला वा पुरुष र उमेर खुल्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन्।
कम्तीमा दुई साताअघि घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना अन्तै भएको देखिएको छ। अन्तै जलाएर बाँकी रहेको अंग त्यहाँ ल्याएर ‘व्यवस्थापन’ गरिएको देखिएको हो।
यसअघि गत वर्ष काठमाडौंकै गोंगबुमा घाँटी र खुट्टा टुक्रा पारिएको अवस्थामा शवका विभिन्न भागहरु अलग अलग स्थानमा भेटिएका थिए। त्यसपछि प्रहरीले शवलाई जोडेर मृतकको तस्विर खिचेर पहिचानका लागि सार्वजनिक गरेको थियो। त्यसको केही समयमै मृतकका आफन्त प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसपछि प्रहरी अभियुक्तसम्म पुगेको थियो।

