दूताबासबाट सहयोगको अपेक्षामा स्पेनका नेपालीहरू
- सुन्दर रानाभाट
स्पेन युरोपको एक शक्तिशाली राजतन्त्रात्मक युरोपियन मुलुक हो।युरोपका दुई देश फ्रान्स र पोर्चुगलसँग स्थलमार्ग जोडिएको यसको क्षेत्रफल ५०५,९९० वर्ग किलोमीटर छ । यहाँको राष्ट्रिय भाषा स्पेनिश हो।
विगतमा दक्षिण अमेरिकाका विभिन्न मुलुकहरूमा स्पेनले आफ्ना उपनिवेश बनाई राज्य गरेको हुँदा त्यहाँपनि स्पेनिश भाषाको उच्च प्रभाव पाईन्छ। यहाँको कुल जनसंख्या ४ करोड ६० लाख रहेको छ। आप्रवासीका लागि खुकुलो बधनिक आबासीय प्रक्रिया भएकाले यहाँ आप्रवासी को संख्या उलेख्य छ ।
स्पेनमा आवासीय अधिकार पाएका (बैधरुपमा बस्ने) र नपाएका गरी झन्डै १० हजार नेपालीहरु रहेको अनुमान छ। तर, म्याड्रिडस्थित नेपाली दूताबासले सन् २०१९ को स्पेनी सरकारी तथ्याङ्कलाई उल्लेख गर्दै दिएको जानकारी अनुसार यहाँ स्पेनमा ५ हजार ६४ नेपाली छन्। तर सो तथ्याङ्क बैधरुपमा बस्ने नेपालीहरुको मात्र हुनसक्ने अनुमान गरिन्छ र वर्षेनी युरोपका विभिन्न मुलुकबाट आबासीय कागजी प्रक्रियाका लागि भित्रिने नेपाली युवायुवतिको उच्च दरले नेपालीको संख्या यकिन गर्न कठिन छ।
कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणको कारण स्पेन सरकारले मार्च १४ तारिक बाट पूर्णरुपमा मुलुकमा लकडाउन घोषणा गरेको थियो ३ महिना सम्म जारी रह्यो र अर्थतन्त्रमा गिरावट आउनुका साथै मानिसको जीवनयापनमा कठिनाई आएको महशुस गर्दै लकडाउनमा बिस्तारै नियमहरू खुकुलो गर्दै व्यापार व्यवसाय सञ्चालनका लागि अनुमति दियो।
हाल फेरि जाडो यामको सुरुवात सँगै कोरोना बढ्दो संक्रमणका कारण स्पेनिस सरकारले विगत अक्टोबर १५ देखि स्पेनका विभिन्न शहरहरूमा संचालित सम्पूर्ण बार, रेस्टुरेन्ट र होटलहरुको प्रत्यक्ष सेवामा रोक लगाई होम डेलिभरी सेवालाई मात्र अनुमति दिएको छ।
त्यसैगरी रातको ११ बजेदेखि बिहान ६ बजेसम्म दैनिक कर्फु आदेश जारी गरेको छ।यस समय भित्र आवतजावतमा पूर्ण रोक लगाएको छ साथै रेस्टुरेन्ट तथा बारहरु रातिको १० बजे अनिवार्य बन्द गर्नुपर्ने आदेश गरेको छ। त्यसै गरी यहाँका सम्पूर्ण रात्रिकालीन व्यवसाय, डिस्को, सपिङ कम्प्लेक्स, व्यायम तथा जिम हल, सार्वजनिक पार्क तथा मनोरंजन स्थल पूर्णरुपमा बन्द छन।
यो लकडाउन कहिले सम्म जारी रहने भन्ने अनिश्चित छ। यस अवस्थामा आबासीय अधिकार पाएका र काम गरिरहेका तर कोरोना का कारण कामबाट वञ्चित भएका तमाम नागरिकलाई उनीहरूले खाइपाई आएको तलबको ७०% नबढाई आउने गरी आर्थिक सहायता हालसम्म उपलब्ध गराउँदै आएको छ।
कोरोना भाइरसको हालसम्म पनि कुनै उपचार पत्ता लगाउन नसकेको अबस्थालाई हेर्दा रोजगारी पाईरहेका वा राम्रो ब्यबसाय संचालन गरिरहेका नेपालीहरुको भविष्य समेत संकटमा परेको छ। तर बिभिन्न मुलुकहरुले घोषणा गरेको सामाजिक सुरक्षाको योजनाले कामदार तथा ब्यबसायीहरुलाई केहि हदसम्म भएपनि संरक्षण गरेको देखिन्छ। तर आबासीय अधिकार पाई नसकेका अर्थात् अवैधानिक रुपमा बस्दै आएका नेपालीहरुलाई ठुलो संकट परेको छ। यस विषम परिस्थितिमा वैधानिक आबासीय अधिकार नपाएका र विद्यार्थीहरुमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ स्पेनको नेतृत्वमा स्पेनि स्थित सम्पूर्ण नेपाली समाज तथा संस्था सदस्य रहने गरी ‘कोभिड १९ मूल सहयोग समिति spain’ गठन गरी विभिन्न चरणमा करिब ५०० जना भन्दा बढी नेपाली लाई राहात स्वरूप खाद्य सामग्री वितरण गरेको थियो ।
स्पेनका विभिन्न ठाउँमा बसोबास नेपालीहरु हालसम्म ३०० जनाभन्दा बढी नेपाली संक्रमित भई निको समेत भएको अवस्था छ तथापि तथ्याङ्क यकिन गर्न मुस्किल छ। चिसो मौसमको सुरुवात सँगै अहिले पछिल्लो क्रममा यो संख्या बढ्दो छ।
खुसीको कुरा हालसम्म कुनै नेपाली यो रोगबाट मृत्युवरण गर्न परेको छैन। भाइरसका कारण स्पेनमा बसोबास गर्ने नेपाली समुदायमा ठूलो समस्या पर्दा समेत मुलुकको वैधानिक अभिभावक संस्था नेपाली दूतावास हुँदा समेत कुनै राहतको प्याकेज र सहयोग यहाँ स्थित नेपाली समुदायले अनुभूति गर्न सकेनन् यो दुःखद पक्ष हो। राजदूत दावा फुटी शेर्पा जातीय बन्धनबाट बाहिर निस्कन सकेकी छैनन् । दूताबास बास्वतमै नागरिक रक्षाका लागि अझ सक्रिय हुनुपर्नेमा त्यसअनुरूप नभएको जनाइएको छ ।
यहाँस्थित नेपाली दूतावास नेपाली जनसमुदायको अभिभावक बन्न सकेको छैन। युरोपेली मुलुक स्पेन, पोर्चुगल र ईटालीमा आवासीय अधिकारका (कागाज बनाउने प्रक्रियामा) रहेका नेपालीहरु संख्या बढी छ।
कोभिड–१९ बाट उच्च संक्रमित भएको मुलुक स्पेन ३ देखि ५ सयको संख्यामा कागाजी प्रक्रियाका लागि नेपालीहरु रहेको अनुमान गरिन्छ तथापि यहाँ बसोबास गर्ने नेपालीहरूको यकिन रेकर्ड नभएका कारण यती नै भनेर अनुमान गर्न भने मुश्किल छ।
आबासीय तथा कामको इजाजत प्राप्त नगरेका नेपालीहरु जिविकोपार्जनका लागि पनि घण्टौ समय (तोकेको समयभन्दा बढी) दिएर काम गर्नुपर्ने वाध्यता छ।यसरी काम गर्दा पनि उनीहरूको पारिश्रमिक एकदमै न्युन छ। तर पछिल्लो अबस्थाका कारण उनिहरुकालागि आम्दानीको सम्पूर्ण स्रोत बन्द भएको छ। अहिलेकै अबस्था लम्बिदै जाने हो भने खानाबस्नकै निमित्त समस्या आउने चिन्ता छ।
कुनै पनि किसिमको सरकारी सहयोग नपाउनु र कामकाज ठप्प हुनुले स्वभाबिकरुपमा आर्थिक समस्या देखिने निश्चित भएको हो। सामान्यतया यहाँको आबासीय अनुमतिसहित को कार्ड पाउँन ३ वर्ष सम्म कानुनसम्बत बस्नुपर्ने नियम छ। यो लकडाउनका कारण आवासीय अधिकारका लागि कागजी प्रक्रिया समेत झन्झटिलो र जटिल हुँदै गएको छ।
(रानाभाट गैर आबासीय नेपाली संघ स्पेनका प्रवक्ता हुन् ।)