

सोह्रखुट्टे वृत्तमा डिएसपी प्रमेश बिष्टलाई खटाइयो

काठमाडौं – महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानेपछि स्रोहखुट्टेको जिम्मेवारी प्रमेश बिष्टलाई दिइएको छ।
डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। २३ जेठमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले डिएसपी खड्कालाई कारबाही गरेपछि सोह्रखुट्टे वृत खाली थियो।
डिएसपी खड्कालाई अनुशासनविपरीत काम गरेको भन्दै कारबाहीस्वरुप परिसरमा तानिएको थियो। उनका स्थानमा बिष्टले जिम्मेवारी वहन गरेका हुन्।
प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो। खड्कामाथि कार्यशैली राम्रो नभएको, जनतासँग राम्रो व्यवहार नगरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ।
डीएसपी खड्काको गत वैशाख ०७७ मा सोह्रखुट्टेमा सरुवा भएको हो। तत्कालीन वृत्त प्रमुख डीएसपी सन्तोषसिंह राठौरको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि खड्कालाई खटाइएको थियो।
डीएसपी खड्का कार्यसम्पादनमा कमजोर रहेको भन्दै यसअघिदेखि महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थियो।

