

बैतडीमा बस दुर्घटना हुँदा ७ पुरूषसहित ९ को मृत्यु, तीब्रगति हुँदा दुर्घटना

बैतडी- बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको हो ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतकहरुको सनाखत हुन बाँकी छ ।
मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।
मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज निकालिने प्रहरीले बताएको छ ।
दुर्घटनाको कारण यकिन नभएपनि तीब्र गतिमा हुँदा दुर्घटना भएको अनुमान लगाइएको छ ।

