तल्लो तलामा जुवा अखडा, उपल्लोमा ‘यौनलिला’

महरा प्रकरणको चर्चित रक्सी र दर्जन बढी कन्डम फेला, ७ जनालाई प्रहरीले समात्यो


काठमाडौं– साढे दुई तल्ले घर। निषेधाज्ञामा उक्त घरमा कसैको ध्यान पुगेको थिएन। मानिसहरू आउने जाने र केही युवती समेत नियमित रुपमा जाने गरेको सूचना प्रहरीलाई पुग्यो।

अनि, पत्तो लाग्यो– तल्लो तलामा जुवा अखडा र माथिल्लोमा वेश्यावृत्ति समेत हुने तथ्य। यद्यपि, प्रहरीले यस विषयमा अझ गहिरो अनुसन्धान जारी राखेको छ।

निषेधाज्ञाकाबीच मकवानपुर प्रहरीले हेटौंडा–४ बैंक रोडस्थित एक घरमा छापा मारेको थियो। उक्त घरमा जुवा अखडा र यौनलिला मच्चाउने गरेको तथ्य प्रहरीको अनुसन्धानले खुलाएको छ।

मंगलबार ५ जना जुवाडे, १५ बर्षिया किशोरी र बुधबार एक जना युवती सप्लाई गर्ने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

‘जुवा अखडा चलाइएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो, सोही बेला एक किशोरी पनि फेला परेपछि अनुसन्धान अगाडि बढाइएको छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठौर भन्छन्,‘अहिले हामीले जुवा मुद्दा र फेला परेकी किशोरीले दिएको बयानका आधारमा जबरजस्ती करणीमा मुद्दा चलाउन लागेका छौं। थप अनुसन्धान जारी छन्।’

प्रहरीलाई ति किशोरीले बन्धक बनाएर करणी गरेको बयान दिएकी छन्। सोही आधारमा प्रहरीले मुद्दा चलाएको छ भने बाँकी अनुसन्धान पनि सुरु गरेको छ।

प्रहरीले घटनास्थलबाट हेटौंडाका ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेललाई नियन्त्रणमा लिएको छ।

यस्तै, उक्त घरमा युवती सप्लाई गर्ने काममा खटिएका अख्तर हुसैनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।

घटनास्थलबाट प्रहरीले हिमालय रिजर्भको रक्सीसहित १६ वटा कन्डम समेत जफत गरेपछि वेश्यावृत्ति हुने गरेको विषयमा पनि अनुसन्धान अगाडि बढाएको स्रोतले जनाएको छ। ‘युवती त्यहाँ पठाउने बिचौलिया भनिने पनि पक्राउ गरिएको छ, घटनास्थलबाट एक जना किशोरी मात्र फेला पारिएको छ तर जफत गरिएको सामानले थप अनुसन्धान गर्न बल पुगेको छ’, प्रहरी स्रोतले भन्यो।

ति किशोरीको स्वास्थ्य परिक्षण पनि गरि सकिएको छ। रातभरी उक्त घरमा बसेकी उनलाई कस–कसले करणी गरेको भन्ने सन्दर्भमा भने एक जना बाहेक थाहा नभएको बयान प्रहरीलाई दिएको स्रोतले जनायो। घटनास्थलमा फेला पारिएको त्यहि रक्सी हो, जुन पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा चर्चामा आएको थियो।

प्रतिक्रिया