

‘इन्स्पेक्टर’ भन्दै धम्क्याएर अपहरण गर्न खोज्ने तीन पक्राउ

काठमाडौं – महानगरीय अपराध महाशाखाले ट्याक्सीमा राखेर अपहरण गर्न खोज्ने तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–८ घर भई तार्केश्वर बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका–५ डाँडाखर्क घर भई वनस्थली ढुंगेधारा बस्ने ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासी कावासोती नगरपालिका–१२ पिठौली घर भई स्वयम्भु बस्ने ३६ वर्षीय गुविराम घले रहेका छन् ।
उनीहरुले बालाजु आसपासका क्षेत्रमा ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिई पैसा असुल्ने गरेका थिए । प्रहरी अनुसनधानको क्रममा अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरुको सूचना संकलन गरेर निगरानी राखी खोजतलास गर्ने क्रममा कीर्तिपुरस्थित चोभार डाँडाबाट उनीहरु पक्राउ परेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए ।
उनीहरुले बुधबार बिहान १० बजे चारजना स्थानीयलाई ‘प्रहरी हुँ’ भन्दै डरत्रास देखाएर ट्याक्सीमा राखेर चोभार डाँडा पुर्याएका थिए । प्रहरी चौकी जानुपर्ने भयो भन्दै चोभार लगेको अनुसन्धानबाट खुलेको छ । मागेकोजति पैसा नदिएपछि ४ जनालाई उनीहरुले ट्याक्सीमा राखेर चोभार पुर्याएको खुलेको छ ।
उनीहरुले ट्याक्सीलाई बीचमा राखेर अगाडि पछाडि एक÷एक वटा मोटरसाइकलले स्कर्टिङ दिँदै लगेको एसएसपी थापाले बताए । चोभार पुर्याएपछि अपहरणमा परेको भन्दै एकजनाले आफ्नो मामालाई म्यासेज गरेका थिए । उक्त म्यासेज पाएपछि घटनाबारे प्रहरीकोमा सूचना पुगेको हो ।
‘११ बजेतिर माछापोखरीबाट ४ जना व्यक्ति अपहरणमा परेको भन्ने खबर आयो,’ एसएसपी थापाले भने, ‘म्यासेज आएको मोबाइल नम्बरमार्फत कल ट्रयाकिङको लोकेशन हेर्दै जाँदा चोभार देखियो । तत्कालै महाशाखाको टोली चोभार पुगेर ३ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।’
पक्राउ परेकामध्ये तामाङ सशस्त्र प्रहरी बलका भगौडा प्रहरी हुन् भने अन्य दुईजना सेक्युरिटी गार्डको काम गरेर छाडेको पाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ ।

