डाक्टरको ‘कडा निर्देशन’सँगै ‘हस्’ भन्दै गंगालालबाट डिस्चार्ज भए मदनकृष्ण


काठमाडौं– बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ गंगालाल अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शुक्रबार राती एक्कासी छाती दुखेपछि अस्पताल भर्ना गरिएका कलाकार श्रेष्ठ आज (बुधबार) डिस्चार्ज भएको उनका छोरा यमन श्रेष्ठले बताए ।

यमनका अनुसार मदनकृष्णको शनिबार एन्जिओप्लास्टी गरी दुईवटा स्टेन्ट राखेर मुटुमा रक्तसञ्चारको ब्लकेज हटाइएको थियो । अहिले उनको स्वास्थ्यस्थिति राम्रो भएको छ ।

मदनकृष्णलाई चार साताको अनिवार्य बेडरेष्ट गर्नका लागि डाक्टरले सुझाएका छन् । डाक्टरले मदनकृष्णलाई आगामी चार साताका लागि, ‘नो फेसबुक, नो सोसल मिडिया, नो टु मच मोबाइल, नो टु मच फोन कन्भर्सेसन, नो प्रोग्राम’ जस्ता कडा निर्देशन दिएको पनि यमनले जनाए ।

यमनले मदनकृष्णले डाक्टरहरुको निर्देशन पूर्ण पालना गर्ने प्रतिबद्धता गर्दै ‘हस्’ भन्दै टाउको हल्लाएर अस्पतालबाट डिस्चार्ज भएको पनि जनाए ।

यसअघि मदनकृष्ण कोरोना संक्रमित भएपछि लामो समय मेडिसिटी अस्पतालमा उपचार गरेर केही साता अघि मात्र कोरोनामुक्त भएका थिए ।

 

 

प्रतिक्रिया