टेकु तानिएका खड्कामाथि छानबिन सुरु, सोह्रखुट्टे वृत्तका लागि तीन डिएसपीको दौड

शितलनिवास, बालुवाटारको दबाबमा दुई जनाको लिगलिगे दौड, प्रधान कार्यालयको चाहना उत्कृष्ट 


काठमाडौं– आर्थिक अनियमिततालगायतका विषयमा उजुरी परेपछि नसियतसहित महानगरीय प्रहरी परिसर टेकु तानिएका सोह्रखुट्टे वृत्तका इञ्चार्ज प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्कामाथि छानबिन सुरु भएको छ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले प्रहरी उपरिक्षक (एसपी) श्याम चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी खड्कामाथि अनुसन्धान थालेको हो। उक्त समितिलाई एक साताको म्याद दिइएको स्रोतले बतायो।

यता, खड्का तानिएपछि उक्त वृत्त इञ्चार्जका लागि तीन जना डिएसपीको दौड सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको भिटो प्रयोग गर्दै डिएसपी मिलन केसी इञ्चार्जका लागि अभ्यास गरिरहेका छन्।

केसीले पारिवारिक दबाबका आधारमा शक्तिको प्रयोग गरिरहेको बताइन्छ। उनका सालोको बिहे राष्ट्रपति भण्डारीकी छोरीसँग भएको छ। सोही सम्बन्ध मार्फत इञ्चार्जका लागि उनी सक्रिय रहेका छन्।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको भिटो प्रयोग गर्दै डिएसपी केशव भट्टराई पनि सोह्रखुट्टे इञ्चार्जको ताकमा छन्। बालुवाटारबाट दबाब दिँदै उक्त स्थानमा जाने दौडमा भट्टराई रहेका छन्।

तर प्रहरी प्रधान कार्यालय भने कार्य सम्पादनलगायतको अब्बलता देखाएका र ब्याचका नै उत्कृष्ट डिएसपी हरि खतिवडालाई त्यहाँको जिम्मेवारी दिनुपर्ने अडानमा छ।

खतिवडा अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत छन्। उनको कार्य क्षमताको प्रधान कार्यालयले प्रशंशा गरेको बताइन्छ।

प्रतिक्रिया