

दुर्घटना गराउने सांसदका छोरा कार्कीमाथि ज्यान उद्योगमा अनुसन्धान

काठमाडौं– प्रहरीले मजदुरको ज्यान लिनेगरी सवारी दुर्घटना गराउने प्रदेश १ का सांसद बिन्दिया कार्कीका छोरा रबिन कार्कीमाथि प्रहरीले ज्यान उद्योगमा अनुसन्धान थालेको छ।
बिहीबार बिराटनगरमा सवारी अनुमतिपत्र नभएका कार्कीले सवारी चलाई दुई जनालाई ठक्कर दिएका थिए। त्यस मध्ये एक जनाको मृत्यु भएको छ। प्रहरीले उनीमाथि ५ दिन म्याद थप गरी ज्यान उद्योगमा अनुसन्धान सुरु गरेको बताइन्छ।
२० जेठ र राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट ५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।
दुर्घटनाका मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्। विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षित हुन्छ। कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ।

