दाङका भरतराज ओलीको अमेरिकामा मृत्यु


काठमाडौं – डीभी चिट्ठाबाट अमेरिका पुगेका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्रावबाट ज्यान गएको छ ।

गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृत्यु भएको हो ।

ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका पुगेका थिए । उनी दाङका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली परिवारमा आयआर्जन गर्ने उनी एक मात्र सदस्य थिए।

उत्तर क्यारोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा उनको अन्त्येष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्याइएको छ ।

संस्थाले मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागि सहयोग गर्न गोफन्ड मी आह्वान गरेको हो । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता सञ्चालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भइसकेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया