

चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

काठमाडौं – भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ। सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको हो।
तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको सरकारी तथ्यांकमा उल्लेख छ। सरकारी अधिकारीहरूका अनुसार ज्यान जानेमा हुग्लीका १० जना, मुर्शिदाबादका नौ जना, हावडामा दुई र पश्चिम मेदिनीपुर जिल्लामा दुई जना रहेका छन्।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन्।
राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

