

ओलीको आह्वान जालझेलपूर्ण रहेको माधव पक्षको टिप्पणी, आजै लिखित जवाफ दिने तयारी

काठमाडौं – नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई अस्विकार गरेको छ ।
माधव पक्षले ओलीको आह्वान जालझेलपूर्ण भन्दै अस्विकार गरेको हो ।
माधव पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताए । आजै माधव नेपालले ओलीलाई लिखितरूपमा जवाफ फर्काउने समझदारी बैठकमा भएको छ ।
नेपाल पक्षको बैठकमा अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पछि हट्न नहुने बताएका छन् ।
केही नेताले भने पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा ओली फर्किसकेकाले एकताको विपक्षमा उभिन नहुने धारणा राखेको बताइएको छ ।

