

प्रधानसेनापति थापाका उत्तराधिकारीः यस्ता छन् ९० दिनपछिका सैनिक प्रमुख शर्मा

काठमाडौं– हालै एउटा पत्रकार सम्मेलन गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारका काम आफ्नो कार्यकालमा नभएका जति अर्का प्रमुखले गर्ने बताए।
उनले तयार पारेका उत्तराधिकारीबाट नेपाली सेनाले गरिरहेको र जारी राखेका राम्रा काम हुनेछन्। थापाका उत्तराधिकारी अर्थात् आगामी सैनिक प्रमुख हुन्, जर्नेल प्रभुराम शर्मा।
शर्मा ४४ औं प्रधानसेनापतिका रुपमा ९० दिनपछि फूली लगाउँदैछन्। शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन्। नेपाली सेनाको इतिहासमा नै सम्भवतः उनी पहिलो ‘ब्राम्हण’ प्रधानसेनापति हुनेछन्।
को हुन् शर्मा?
सामूहिक नेतृत्वलाई मन पराउने शर्मा इतिहासका ज्ञाता पनि हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन्।
अन्यत्र छाडिएको अभ्यास नेपाली सेनामा रहेको छ। शर्माले थापा सेवानिवृत्त हुनुअघि एक महिनाअघि विदा बस्नेछन्। सोही बेलादेखि शर्माले कार्यबाहक प्रधानसेनापतिका रुपमा सबै काम गर्नुपर्ने हुन्छ।
‘सरकारले नियुक्त गरेको खण्डमा पनि समयमा उनले फूली लगाउनेछन्। तर, अहिलेदेखि नै उनी सैन्य प्रमुखको कार्य कस्तो हुन्छ भन्ने अभ्यासमा अभ्यस्त छन्’, सैनिक शुत्रले भन्यो।
सेनाभित्रको चेन अफ कमाण्ड र अनुशासनको विषयलाई थापाले पनि डगमगाउन दिएका छैनन्। त्यसैले उनको विश्वासका आधारमा शर्माले पनि सेनाको कामलाई कुशलताका साथ अघि बढाउनेछन्। पत्रकार सम्मेलनका दौरान थापाले भने,‘नेपाली सेनाको जिम्मेवारी र कर्तव्यलाई आउनुहुने प्रधानसेनापतिले पनि सोही लयमा लैजानु हुनेछ।’
२४ भदौमा कार्यकाल सकिन लागेका थापा २४ साउनदेखि विदा बस्नेछन्। सेना राजनीतिभन्दा निक्कै अलग रहेको र यसरी नै चल्ने थापाले स्पष्ट पारेका छन्। जब पत्रकारले सोधे,‘के अहिलेको अवस्थामा सेना अगाडि आउँछ?’ थापाको उत्तर थियो,‘यो राजनीतिक प्रश्न भयो, सेना राजनीतिभन्दा फरक आफ्नै कर्तव्य र संविधानको पालक हो।’
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको भएकाले आगामी प्रधानसेनापति शर्माले पनि यसलाई निरन्तरता दिनेमा थापा विश्वस्त छन्।
थापाले सेना प्रमुख हुनासाथ सम्पत्ति सार्वजनिक गरेका थिए। यो क्रमलाई पनि आगामी प्रधानसेनापतिले कायम राख्ने स्पष्ट पारेका छन्। यसको अर्थ हो, यो परम्परालाई शर्माले पनि निरन्तरता दिनेछन्।
थापाको कामको लयमा शर्मा पनि संलग्न रहेकाले त्यसलाई निरन्तरता दिने र झन कठोर निर्णय लिँदै सैन्य संगठनलाई अब्बल बन्नेमा विश्वस्त छन्।

