कोरोना संक्रमित किशोरीलाई पनि नछाड्ने इन्जिनियर को हुन्?


काठमाडौं – रोल्पाको रुन्टीगढी गाउँपालिकामा कोरोना संक्रमित किशोरीमाथि बलात्कारको प्रयास भएको छ। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति इन्जिनियर रहेको बताइएको छ। धारामा नुहाउँदै गरेकी कोरोना संक्रमित किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा दाङको लमही घर भएका शेषमणि पौडेललाई प्रहरीले पक्रेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पौडेलले रुन्टीगढी गाउँपालिकाकी स्थानीय किशोरीमाथि बलात्कार प्रयास गरेपछि पक्राउ गरिएको हो। पौडेल रुन्टिगढी गाउँपालिकामा कार्यरत इन्जिनियर हुन्।

इन्जिनियर पौडेलले किशोरी घर नजिकैको धारामा नुहाउन गएको बेला बोतलमा पानी भर्ने बहाना गरेर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

बलात्कार गर्ने प्रयास असफल भएपछि इन्जिनियर पौडेल भागेर गाउँपालिका कार्यलय पुगेका थिए। उता किशोरी भने घरमा गएर रोइकराई गरेपछि घटनाबारे थाहा भएको पीडित परिवारको भनाइ छ।

‘किशोरीमाथि नुहाउन गएको मौका छोपी करणी प्रयास भएको उजुरी परेको छ,’ रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले भने, ‘इन्जिनियर पौडेल इप्रका होलेरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको छ।’

विगतमा पनि पौडेलले किशोरीको पिच्छा गर्ने गरेको साथै फेसबुक आइडिसमेत माग्ने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्। नदिए जे पनि गर्ने भन्दै धक्की दिने गरेको पीडित पक्षको भनाइ छ।

इन्जिनियर पौडेलमाथि जबर्जस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए। गत जेठ १२ गते गरिएको स्वाब परीक्षणमा किशोरीमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया