

यी हुन् अमेरिकामा ठगी गर्ने सामाखुशीका व्यावसायी केसी, साढे दुई करोड जरिवाना तोकियो

काठमाडौं– बन्द भएको कम्पनीमार्फत कोरोना पीडितलाई सहयोगका नाममा जालसाजी र ठगी गरेको अभियोगमा अमेरिकामा रहेका नेपाली व्यावसायी सुनुप्रताप केसीलाई दुई करोड ५० लाख नेपाली रुपैंया बराबरको जरिवाना सजाय तोकिएको छ।
अमेरिकाको भर्जिनियाँ राज्यमा व्यापार गरेर बसेका केसीले राज्यको रकम जालसाजीपूर्ण हिसाबले दुरुपयोगको ठहर गरिएको छ।
केसी इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक केसीले भर्जिनियाको च्यान्टलीमा कम्पनी खोलेर कोरोना महामारीमा अप्ठेरोमा परेका साना लगानीका व्यापारीहरुलाई त्यहाँको सरकारले सुविधास्वरुप दिने पीपीपी कार्यक्रम अन्तर्गतको रकममा जालसाझी गरेको प्रमाणित गरिएको छ।
बन्द भइसकेको केसी इन्भेष्टमेन्ट गुप्रमार्फत पीपीपी अन्तर्गतको सुविधा लिएर ठगी गरिएको ठहर भएको हो। पूर्वी जिल्ला भर्जिनियाँका कार्यबाहक महान्यायाधीवक्ता राज पारेखले जारी गरेको विज्ञप्तिमा केसी इन्भेष्टमेन्ट्स गुप्र (केसी इन्क)ले पे चेक प्रोटेक्सन प्रोग्राम(पीपीपी) अन्तर्गत धेरै ऋण लिएर ठगी गरेकाले कारबाही गरेको जनाएका छन्।
अनुसन्धानका क्रममा जालसाझी प्रमाणित भएसँगै उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट अर्थात् साढे २ करोड नेपाली रकम गर्ने निर्णय बुधबार गरिएको थियो। उनले उक्त रकम ३० दिनभित्र फिर्ता गरिसक्न आदेश दिइएको छ। आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्ने केसीले कबोल गरेका छन्।

