दरबार हत्याकाण्डः साक्षीहरु जिउँदै छन्, रहस्य खुल्नसक्छ


काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको सपरिवारको हत्या भएको आज २० वर्ष पुगेको छ। १९ वर्षअघि १९ जेठ २०५८ शुक्रबारको राती पारिवारिक जमघटका अवसरमा तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवार र नजिकका नातेदारसहित १० जनाको हत्या भएको थियो।

राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन्।

प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ। यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भएपनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन।

दुई दशकसम्म चर्चित राजदरबार हत्याकाण्डको सत्यतथ्य पत्ता नलागेपछि धेरै प्रश्नहरु उब्जिएको छ। त्यसो भए कहालीलाग्दो राजदरबार हत्याकाण्डको ‘ग्य्रान्ड डिजाइन’ कसको हो? प्रश्न सबैतिर तेर्सिएको छ। भरपर्दो छानबिन भएमा दरबार हत्याकाण्डको सत्य अझै पनि उजागर हुन सक्छ।

युवराज दीपेन्द्रलाई दोषी कबुल गरेपनि जनमानस भने अहिलेसम्म पनि त्यो सत्यतालाई आत्मसाथ गर्न सकिरहेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित हत्याकाण्ड २० वर्षसम्म रहस्यकै गर्भमा रहँदा घटनाका साक्षीहरु समेत जिउँदै छन्।

यस घटनाका प्रत्यक्षदर्शीदेखि पहिलोपल्ट उद्धार गर्न पुग्नेमध्ये धेरैजसो मुलुकमै छन्। तिनमा पनि सबैजसो परिचित र परिभाषित भूमिकामा छन्। हत्याकाण्ड हुँदाका कतिपय घाइते, भोजमा सामेल व्यक्ति, त्यस ठाउँको सुरक्षा हेर्ने जिम्मेवार अधिकारी तथा सुरक्षा व्यवस्थापनमा खटिएका व्यक्तिहरू, व्यक्तिगत सुरक्षा अधिकृतहरू र राजदरबारका कामदार र कर्मचारी सहजै उपलब्ध हुन सक्ने अवस्था छ।

त्यसैले यो घटनाको अनुसन्धानका लागि सबैभन्दा बलियो आधार र प्रमाण घटनास्थलका प्रत्यक्षदर्शी एवं जीवित साक्षी नै हुन्। उनीहरूको पुनः बयान लिने हो र तथ्यको अन्वेषण गर्ने हो भने सहजै निष्कर्षमा पुग्न सकिने फौजदारी न्यायप्रणालीका जानकारहरू बताउँछन्।

तर, प्रतिवेदन बनाउने या विवरण संकलन गर्नमा सीमित नभई अनुसन्धान गरेर घटनाको सत्यतथ्य वा रहस्य उद्घाटित गर्नका लागि त्यस्तो प्रयास हुनुपर्छ। केही मुलुकबाहिर रहेका व्यक्तिहरूलाई पनि अनुसन्धानमा सघाउनका लागि झिकाउन सकिने कानुनी व्यवस्थाको अभाव छैन।

अनुसन्धान अधिकारीले बोलाउँदा नआउनेलाई इन्टरपोल, कूटनीतिक माध्यम वा द्विदेशीय कानुनी सहायता सम्झौताका आधारमा पनि सोधपुछ तथा सूचना आदानप्रदान गर्न सकिन्छ। आधुनिक सूचना तथा सञ्चार प्रविधिका साधनमार्फत पनि सूचना संकलन गर्न नसकिने होइन।

घटनालगत्तै गठन गरिएको न्यायिक जाँचबुझ आयोगले पनि घटनासँग नाम जोडिएकी देवयानी राणा नयाँदिल्ली, भारतमा हुँदा त्यहाँस्थित नेपाली राजदूतावासमा बोलाएरै सोधपुछ गरिएको थियो। भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा भन्छन्, ‘आयोगले जुन कुरा सोधिदिनू भनेर लिखित प्रश्नावली पठाएको थियो, त्यो जस्ताको तस्तै हामीले (देवयानी)सामु राखिदिएका हौँ। उहाँ त्यतिखेर एकदमै सक्ड हुनुहुन्थ्यो। जेजति कुरा उहाँले भन्न सक्नुभयो, त्यो जस्ताको तस्तै टेप गरेर यता पठाइदिएका हौँ।’

चर्चामा आउनको लागि फन्डा

राजदरबार हत्याकाण्डको पर्दाफास भन्दै विभिन्न समयमा अनगन्ती पुस्तकहरु पनि प्रकाशित भए तर ती सबै पुस्तकहरुमा रहस्य र अन्दाजका कुरामात्र बाहिर आएका छन्। राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड जति पुरानो हुँदैछ, त्यति नै मान्छेहरुका लागि चर्चा कमाउने र हल्ला फिजाउने विषय बन्दै गएको छ।

केहीवर्ष अगाडि राजधानीमा पत्रकार सम्मेलन गरेर शाही गुप्तचर विभागका प्रमुख बताउने तुलप्रसाद शेरचनले राजा वीरेन्द्रको हत्या आफूले गराएको दाबी गरेर निकै चर्चा कमाएका थिए। त्यसपछि उनलाई जेल हालियो। शेरचन थुनामा परेपछि पनि हत्याकाण्डको दाबी गर्ने क्रम रोकिएन।

त्यस्तै वीरगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेका एक जना कैदीले आफू हत्याकाण्डको प्रत्यक्षदर्शी भएको दाबी गरे। दीपेन्द्रका अंगरक्षक बताउने पाल्पाका लालबहादुर मगर वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पारसले नै गराएको दाबी गरेर चर्चामा आएका थिए।

उनले त हत्याकाण्डमा राजीव शाहीले सहयोग गरेको समेत दाबी गरेका थिए। नारायणहिटीमा २५ वर्षसम्म सचिवका रुपमा काम गरेका शाही नातेदार विश्वराज शाहले पनि हत्याकाण्डमा विदेशी संलग्नता भएको दाबी गरेका थिए।

माओवादीको आरोपः ज्ञानेन्द्र र पारसको हात छ

त्यतिबेला ‘जनयुद्ध’ सञ्चालन गरिरहेको नेकपा (माओवादी) ले वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र शाह र छोरा पारसको हात रहेको आरोप लगाएको थियो। हत्याकाण्डलगत्तै राजगद्दीमा बसेका ज्ञानेन्द्र शाहले २०६२/६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए।

संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुईपटकसम्म सरकारको नेतृत्वमा पुगे पनि माओवादीले दरबार हत्याकाण्डको स्वतन्त्र छानबिन गर्न चाहेन। कतिपय राजनीतिक विश्लेशकहरुले २ सय ४० वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरबार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन्।

राजा ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए। सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्रको स्थापना गरेको हो।

घटनाताका प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजतन्त्र र दलहरुबीच दूरी बढ्दै जाँदा विराटनगरमा राजालाई आफ्नो हैसियत नबिर्सन आग्रह गर्दै हत्याकाण्डको रहस्य खोल्ने संकेत गरे पनि आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सो कुरालाई बाहिर ल्याएनन्।

जे भए पनि राजदरबार हत्याकाण्ड नै गणतन्त्रको बीउ बन्यो।

घटनामा दीपेन्द्र–देवयानीको नाम कसरी जोडियो?

औपचारिक छानविन समितिले राजा वीरेन्द्र र रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यहरुमाथि गोली चलाएपछि दीपेन्द्रलेआत्महत्या गरेको निष्कर्ष निकालेको थियो। तर, यसमा धेरै आशंका र प्रश्नहरु उठिरह्यो।

बाहिर फैलिएको हल्लाअनुसार दिपेन्द्रको देव्रे टाउकोमा गोलीको दाग थियो। अर्थात उनलाई गोली देव्रे टाउकोमा लागेको थियो। जबकि उनी दाहिने हात प्रयोग गर्थे। दाहिने हात चलाउनेले कसरी देव्रे टाउकोमा आफै गोली हान्न सक्छन्? यसर्थ धेरैको विश्वास छ, दरबार काण्डमा दिपेन्द्रको संलग्नता बनावटी कुरा मात्र हुन्।

अत्याधुनिक हतियारको साथ युवराज दीपेन्द्र

धेरै नेपाली नागरिकहरू यसलाई रहस्यमय हत्याकाण्डकै रूपमा लिन्छन्। यस्ता दाबी समेत आएका छन्, जसमा दुई व्यक्ति जसले युवराज दिपेन्द्रको मुखुण्डो लगाएका थिएले दरबार हत्या काण्डको विध्वसं मच्चाएका थिए। दरबार हत्याकाण्डमा दश राजपरिवार सदस्यको हत्या भएको थियो। यो आधुनिक नेपलाको कहालीलाग्दो र रहस्यमय घटना हो।

सरकारी आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आमसंहार गरेका थिए। किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो। विवाद सृजनाले उनी अत्यन्त रूष्ट थिए।

दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्र्याउने। देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हुन्। राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन्। राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो।

यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूसँग मात्रै विवाह गर्दथे। ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शाषन चलाएका थिए। जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन्। यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको हत्या गरिदिएका हुन्। घटनाको बेला उनले धेरै मादकपदार्थ पिएका थिए।

मृतकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए। भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टाउकोमा पेस्तोल पड्काए। दिपेन्द्रले तीन दिनसम्म कोमामा मृत्युसँग संघर्ष गर । यसै बेला अस्पतालको शैयामै उनलाई राजा घोषित गरिएको थियो। उनको जुन ४ मा मृत्यु भयो। लगत्तै उनका काका ज्ञानेन्द्र राजा भए।

प्रतिक्रिया