

भेरी अस्पतालका डाक्टर र नर्सलाई आक्रमण गर्ने तीन जना पक्राउ

काठमाडौं– भेरी अस्पतालका डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
विहीबार राती कोभिड कक्षमा बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड र डाक्टरमाथि हातपात गरेका थिए। जसका कारण चिकित्सक आन्दोलित भए।
घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए।

