

धौलीगंगाा बाँधको ढोका जुनसुकै बेला खोलिने, सतर्कता अपनाउन आग्रह

दार्चुला – दिनानु दिन भइरहेको वर्षाका कारण धौलीगंगा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगंगा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको छ ।
नदीमा पानीको बहाव बढेपछि परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ । भारतीय विद्युत निर्माता एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको थियो ।
सोही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले निर्माण गरेको परियोजना स्थल भन्दा तल नेपालको व्यास गाउँपालिकाको धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका बस्तीहरु पर्छन् ।
सो क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना मार्फत आग्रह गरेका छन् । विसं ०७० सालको बाढीका बेला परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको अधिकांश भूभाग बगाएको थियो । पछिल्लो समय नेपालले विरोध जनाए पछि भारतले धौलीगङ्गामा पानी बढ्ने बेला जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्ने गरेको छ ।

