


छुरा प्रहारबाट युवकको हत्या, दुई जना पक्राउ

विराटनगर – मोरङको लेटाङमा एक युवकको छुरा प्रहार गरी हत्या गरिएको छ । छुराले हानेर लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हिजो शुक्रबार राती हत्या गरिएको प्रहरीले जनाएको छ। राति ८:४५ बजेतिर लेटाङकै त्रिसूली चोकमा अन्य दुई युवासँग भएको विवादले उग्ररुप लिएपछि उनीमाथि छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
उनकाअनुसार पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा बाटैमा राति १०स्३० बजेतिर मृत्यु भएको हो।
राईलाई लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले लेटाङबाटै शनिबार बिहान पक्राउ गरेको छ। अर्यालकै नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी राईले दिए।

