महन्थ ठाकुरले आफ्ना सांसद राखेको भक्तपुरको रिसोर्टको नाम ‘डोलेश्वर भिलेज’


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका केही सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा लगरे राखेको पाइएको छ।

बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट ठाकुरले आफ्नो पक्षका करिब एक दर्जन सांसदलाई डोलेश्वर भिलेज रिसोर्टमा लगेर राखेको पाइएको हो।

यसअघि रिसोर्टको नाम खुलाइएको थिएन्। ठाकुर निकट एक सांसदले भने, ‘हामी पक्षकालाई भक्तपुरको एक रिसोर्टमा ल्याइएको छ।’ तर ती सांसदले आफूहरु बसेको रिसोर्टको नाम खुलाउन चाहेनन्।

अध्यक्ष ठाकुर निकट १६ सांसदमध्ये १३ जनालाई रिसोर्टमा लगेर राखिएको छ। बिहीबार दिउँसो अध्यक्ष ठाकुरले आफू निकट पार्टीका सांसदहरुलाई पार्टी कार्यालय बबरमहल बोलाएको अर्का पक्ष उपेन्द्र यादवनिकट एक नेताले अनलाइनन्यू७ लाई जानकारी दिए।

उक्त रिसोर्ट भक्तपुर सूर्यविनायक नगरपालिका– ८ को सिपाडोलमा रहेको छ। उक्त रिसोर्टमा लगेर अध्यक्ष ठाकुरले सांसदहरुलाई राखेका हुन्। उक्त रिसोर्टमा ८ का वडाध्यक्षको लगानीसमेत रहेको बताइएको छ।

यो पनि पढ्नुहोस्…

महन्थ ठाकुरले आफू पक्षका सांसदलाई बबरमहलबाट भक्तपुरको रिसोर्ट पुर्‍याए

रिसोर्टमा ठाकुर पक्षीय सांसदहरुकोको व्यवस्थापनमा भक्तपुर एमाले नेताहरुसमेत सहभागी भएको स्रोतले जनायो। जसपा सांसदको व्यवस्थापनमा एमाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र वडाध्यक्ष किरण थापालगायत एमाले नेता सक्रिय भएको स्रोतको दाबी छ।

उच्च स्रोतका अनुसार ठाकुरले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाईसमेत रिसोर्टमै राखेका छन्। ठाकुरले आफ्नो पक्षका १७ मध्ये १३ सांसदलाई मात्र रिसोर्टमा राख्न सकेका हुन्।

राजनीति निर्णायक घडीतिर अघि बढिरहेको छ। प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।

प्रतिक्रिया