

महन्थ ठाकुरले आफू पक्षका सांसदलाई बबरमहलबाट भक्तपुरको रिसोर्ट पुर्याए

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका केही सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका छन्। पार्टी कार्यालय बबरमहलबाट ठाकुरले आफ्नो पक्षका करिब एक दर्जन सांसदलाई रिसोर्ट पुर्याएका हुन्।
बिहीबार दिउँसो अध्यक्ष ठाकुरले आफू निकट पार्टीका सांसदहरुलाई पार्टी कार्यालय बबरमहल बोलाएको अर्का पक्ष उपेन्द्र यादवनिकट एक नेताले अनलाइनन्यू७ लाई जानकारी दिए।
अध्यक्ष ठाकुर निकट १६ सांसदमध्ये १३ जनालाई रिसोर्टमा लगेर राखिएको छ। ठाकुर निकट एक सांसदले भने, ‘अहिले हामी पक्षकालाई भक्तपुरको एक रिसोर्टमा ल्याइएको छ। रिसोर्टको नाम खुलाउन मिल्दैन।’
उक्त रिसोर्टमा सांसदहरूको व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन्। महतो र ठाकुर सबै व्यवस्थापन गरेर फर्किने ती सांसदले बताए।
यसअघि ठाकुर र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका थिए। महन्थ र राजेन्द्रसँग भेटवार्ता लगतै सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्।
राजनीति निर्णायक घडीतिर अघि बढिरहेको छ। प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।

