

ललितपुर प्रहरीलाई तालिम– यसो गरे शरीरमा अक्सिजन कमी हुँदैन, भेन्टिलेटरमा जानु पर्दैन

काठमाडौं – हामीले कोभिड–१९ रोकथामको लागि विभिन्न उपायहरु अपनाउँदै आएका छौं। अहिलेको अवस्थामा स्वास्थ्यका अन्य साधानभन्दा पनि कोरोना संक्रमितको जीवन रक्षाका लागि जरूरी भएको अक्सिजनको अभाव प्रमुख समस्याका रूपमा अगाडि आएको छ।
अक्सिजनको अभाव भएसँगै उपत्यकाका अस्पतालहरुले कोरोना संक्रमित बिरामीको उपचार गर्न हात उठाइसकेका छन्। यस्तो अवस्थामा बिरामीहरु अलपत्र पर्ने अवस्था नआउला भन्न सकिन्न। कोरोना संक्रमितहरूमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ।
त्यतिमात्र होइन, अक्सिजन अभाव भएपछि बिरामी बचाउन सक्ने ग्यारेन्टि नभएपछि बुधबार भक्तपुर अस्पतालले कोभिड–१९ का बिरामीका आफन्तसँग एउटा सम्झौता नै गरेको छ। जुन सम्झौता देख्दा जो कोही पनि अच्चमित हुनेछन्, ‘मृत्यु सम्झौता नै हो।’
भक्तपुर अस्पतालले बिरामीलाई बचाउन कठिन भएपछि ‘अति संवेदनशील मञ्जुरीनामा’का नाममा कुरुवा वा आफन्तसँग सम्झौता गर्न थालेको हो। अस्पतालमा अक्सिजन नभएपछि यसरी सम्झौता नगरी सुख पाउने अवस्था नरहेको अस्पताल प्रशासन बताउँछ।
यसरी अस्पतालहरुले हात उठाएको अवस्थामा सरकारी निकाय मौन छ। कोभिड–१९ को महामारीले कैयौं नेपालीको ज्यान लिइरहेको छ। दिनमै २०० जनाभन्दा बढीको ज्यान गइरहेको अवस्था छ। अक्सिजन बेलैमा नपाएर कोरोना पीडितहरूको ज्यान गएको गुनासो जताततै सुनिन्छ।
यस महामारीले हाम्रो देशको स्वास्थ्यका संरचना र भौतिक साधन, स्रोत जनशक्तिको व्यवस्थापनका बारेमा निकै गम्भीर बन्नुपर्ने शिक्षा पनि दिएको छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ हजार लिटर अक्सिजनको माग रहेको बताइन्छ। तर, उपत्यकामा अक्सिजन उत्पादन क्षमता ८ हजार लिटर मात्रै रहेको छ।
बाँकी सात हजार लिटर अक्सिजन नपुग भएपछि हाहाकार मच्चिन गएको हो। अर्बौं खर्च गरेर काठमाडौंमा ठूला अस्पताल बने पनि यस्ता अस्पतालसँग अक्सिजनको आफ्नो ‘प्लान्ट’ नै छैन्। यसरी अस्पताल आफैं स्वयम् जिम्मेवारी नबनेपछि यस्तो समस्या आएको धेरैको बुझाइ छ।
अक्सिजनको अभाव नै अहिले प्रमुख समस्या भएको कारणले गर्दा अक्सिजन सिलिण्डर संकलनमा नेपाल प्रहरीको सक्रियता बढेको छ। अक्सिजन सिलिण्डर संकलनमा नेपाल प्रहरीको सक्रियता बढ्दो देखेपनि सोचेअनुरुप अक्सिजन उत्पदान भने हुन सकिरहेको छ्रैन।
कोरोनाका सामान्य बिरामीका लागि प्राकृतिक रूपमा शरीरमा अक्सिजन सहज बनाउने उपायहरु पनि रहेको छ। चिकित्सक र जनस्वास्थ्यविद्ले बेला–बेला समाजिक सञ्जालहरुमा पोष्ट गरेर जानकारी दिने गरेका छन्। घोप्टो परेर ‘प्रोनिङ पोजिसन’ मा बस्दा पनि शरीरमा अक्सिजनको सञ्चार वा प्रवाह बढ्छ। ‘प्रोनिङ’ गर्दा कुनै पनि बिरामी भेन्टिलेटरसम्म पुग्ने सम्भावना कम हुन्छ।
श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार यस्तो प्राकृतिक रूपमा लिइने अक्सिजनले शरीरमा अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने हुन्छ। ‘फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ। त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ,’ उनले भनिन्।
बुधबार यसरी नै घाँटी, पेट (पेटभन्दा अलिक तल नाइटो भन्दा मुनि) र गोडामा तकिया राखेर घोप्टो (Prone अर्थात पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने तरिका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम दिइएको छ।
हेर्नुहोस् फोटो
फोटोमा देखाएको तरिका अपनाएमा श्वासप्रश्वासमा सामान्य कठिनाई भएको समयमा प्राकृतिक रुपमा अक्सिजन वृद्धिका लागि गरिने Breathing Exercise, योगाभ्यास र अपनाउने आसनका विधिहरु सम्बन्धी जानकारीलाई व्यापक बनाउन सके पनि श्वास प्रश्वासमा सामान्य कठिनाईबाट राहात पुग्ने र अस्पताल पुग्नु नपर्ने अवस्था नआउने चिकित्सकहरु बताउँछन्।
‘कोभिड संक्रमण भएका बिरामीमा रेस्परेट्री डिस्ट्रेस अथवा श्वास लिन कठिनाई भए उत्तानो Supine पल्टिनुको सट्टा घोप्टो (Prone अर्थात पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुन्छ। कैयौंलाई त यत्तिले मात्र पनि राम्रो अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने पनि हुनसक्छ भन्दा रहेछन्,’ ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन्।
यस्तै, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ। यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ।’

