गण्डकी : विपक्षी दलहरूको प्रयासमा धक्का, गठबन्धनको बहुमत दावी फेल


काठमाडौं – गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको छ ।

राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयास विफल भएको छ ।

बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको जनाएका छन् । जसकारण विपक्षी गठबन्धनको बहुमत दावी फेल खाएको छ ।

बागलुङमा रहेका शाहीले लिखित वक्तव्यमार्फत विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले आफू तटस्थ रहेको जनाएका छन् ।

यसअघि दलका नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गरिसकेका छन् ।

 

प्रतिक्रिया