

‘१० दिनअघि मात्र बाल्टिमोर पुगेका थिए सागर, तर सधैंका लागि बिदा भए’

काठमाडौं – संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोलीकाण्डमा संदिग्धसहित ४ जनाको मृत्यु भएको छ। घटनामा एक नेपालीको निधन भएको छ।
अमेरिकी समयअनुसार शनिबार बिहान भएको गोलीकाण्डमा गोलीकाण्डमा संखुवासभा खादवारी नगरपालिका–६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो।
मृत्यु हुने अन्दाजी २४ वर्षीय घिमिरे साउथ क्यारोलिनाबाट स्नातक सकेर १० दिन अगाडि मात्र बाल्टिमोर गएका थिए। यसैगरी, गोलीकाण्डमा अर्का एक नेपाली घाइते भएका छन्।
घाइते भएर अस्पतालमा भर्ना भएका अन्दाजी २६ वर्षका नेपाली सर्लाही घर भएका श्याम अधिकारी रहेका छन्। प्रहरीले यस घटनाबारेमा अनुसन्धान गरिरहेको छ।
गोलीकाण्डपछि एउटा घरमा आगजनी भएको अमेरिकी प्रहरीले बताएको छ। संदिग्ध अभियुक्तले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।
मृत्यु हुनेहरूमा नेपाली बाहेक दुई जना स्पेनी परेका छन्। अर्का मारिने संदिग्ध अस्वेत रहेको बुझिएको छ। बन्दुकधारी संदिग्धले अन्य नेपालीहरू पनि खेदेको र भागेर ज्यान बचाएका थिए।
उक्त क्षेत्रमा बसोबास गर्दै आएकी गेल वाट्सले एकाबिहानै ६ः३० बजे घरमा आगजनी भएको देखेको र ठूलो बिस्फोट भएको समाचार संस्था एपीलाई बताएकी छिन्।
बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार बाल्टिमोरको पश्चिम वुडलन नजिक उक्त बन्दुकधारी र आगजनी भएको खबर पाएपछि ६ः४० मा त्यहाँ पुगेका थिए।
प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाइरहेका थिए। प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भएको छ।

