धारिलो हतियार प्रहार गरि दाङमा श्रीमतीको हत्या


देउखुरी – दाङमा श्रीमानले धारिलो घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । दाङको गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी ३७ वर्षिय श्रीमान धनिराम चौधरीले ३८ वर्षीया श्रीमती शिला चौधरीलाई घरेलु हतियार प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए ।

श्रीमान धनिराम बिगत दश वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । बिहान श्रीमान श्रीमतीले मकै रोपेर घर फर्किएका थिए । बिहानको काम सकेर खाना खाने बेला धनिरामले घरेलु हतियार दाउले श्रीमतीको घाँटीमा प्रहार गरेका थिए ।

श्रीमानको दाउ प्रहार बाट गम्भीर घाइते भएकी शिलाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको बताइएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान धनिरामलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया