

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त शेरचन भन्छन्– राजीनामा दिँदा प्रचण्डले रोकेका थिए

काठमाडौं– गण्डकीका लागि दोस्रो प्रदेश प्रमुखका रुपमा १८ महिना काम गरेपछि पदमुक्त भएका अमिक शेरचनले पहिले नै राजीनामा दिँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको खुलासा गरेका छन्।
सोमबार मात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेका शेरचनले मंगलबार पत्रकार सम्मेलनमा भने,‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु। मुरीमुरी धन्यबाद छ राष्ट्रपति ज्यूलाई पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो।’
पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद रहेको र अहिले मुक्त भएपछि अधिकारविहिन खुला जेलबाट मुक्त गरिदिनु भएको भन्दै शेरचनले धन्यवाद दिएका छन्।
‘म राजीनामा बोकेर यसअघि नै काठमाडौं गएको थिएँ तर प्रचण्डजीले रोक्नुभयो’, उनले भने,‘पार्टीको निर्णय भएका कारण स्वीकार गरेको थिएँ।’
राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएकोप्रति शेरचन चिन्तित देखिए।
‘एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो’, उनले भनेका छन्।

