

सिन्धुलीमा विवाहमण्डपबाटै दुलहा–दुलही नियन्त्रणमा

काठमाडौं – सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ। बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो।
दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका–७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
दुलाहाको विवाह गर्ने उमेर पुगेपनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको थपलियाको भनाइ छ। ‘दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको पायौं,’ उनले भने।
दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर प्रहरीले पठाएको छ। प्रहरीले बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको थियो।

